समाज

खोपतालिका सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले खोपतालिका सार्वजनिक गर्न माग गरेको छ। कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको भन्दै संक्रमण नियन्त्रणका लागि खोप जरुरी रहेकाले खोप तालिका सार्वजनिक गर्न माग गरेको हो।

‘जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो र आधारभूत कर्तव्य हो, जसमा कुनै सम्झौता हुन सक्दैन। महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशीघ्र निःशुल्क उपलब्ध गराउनु पर्दछ। यसका लागि सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनु पर्दछ। हाल यो प्रक्रिया अवरुद्ध भएकोले जनहितकालागि सरकारले शिघ्रातिशीघ्र खोपतालिका सार्वजनिक गर्नु जरुरी छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग छ।

उसले भारतबाट खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिशन एजेन्टले प्रभाव पारी खोपमा भैरहेको ढिलाइप्रति सरकारको ध्यानार्कषण गर्दै खोप आपूर्ति रोकिनुको कारण बताउन समेत माग गरेको छ।

संस्थाले महामारीको अवस्थामा खोप लगायतका स्वास्थोपचारसम्बन्धी खरिदको प्रक्रिया झन् बढी पारदर्शी र जवाफदेही बनाइनु पर्नेमा स्वास्थ्योपचारसम्बन्धी खरिदमा अनियमितता हुनु राष्ट्रघाती काम भएको जनाउँदै कमिशनका लागि नेपाली जनताको जीवनसँग खेलवाड गर्नेलाई निर्मम कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।

त्यस्तै  कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजनाको आवश्यकता औंल्याएको छ। त्यसका लािग राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई महत्व दिन पनि ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ।

प्रकाशित: २४ वैशाख २०७८ १२:३२ शुक्रबार

महामारी नियन्त्रणमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल