समाज

निषेधाज्ञामा बिरामीको बहानामा यात्रु ओसार्दै एम्बुलेन्स

बिहीबार दिउँसो तनहुँको आँबुखैरेनी हुँदै ग १ क ३९४ नम्बरको एम्बुलेन्स गोरखा प्रवेश गर्‍यो। गोरखा भित्रने नाका मझुवा चेकपोष्ट नजिकै आइपुग्दा एम्बुलेन्सको गति झनै बढ्यो। चेकजाँचमा खटिएका सुरक्षाकर्मीलाई एम्बुलेन्समा यात्रु आएको शंका लाग्यो र रोके। एम्बुलेन्सको अगाडी चालकसहित दुई यात्रु र पछाडि दुईजना थिए।

पाँचखुवा देउराली स्वास्थ्य चौकीको उक्त एम्बुलेन्समा सवार चारमध्ये दुईजना काठमाडौं र दुईजना भारतबाट आएका व्यक्ति थिए। आफूलाई बाटोमा रोकेर लगिदिन अनुरोध गरेपछि ल्याएको बताउँदै थिए, एम्बुलेन्स चालक। भारतबाट आएका दुईजना भिमसेन थापा गाउँपालिका १ र ६ का पुरुष थिए। प्रहरीले केरकार गर्दैगर्दा चालकदेखि सवार यात्रुको बोली पटकपटक फेरिएको थियो। अन्ततः भातरबाट आएकाहरुलाई गाउँपालिका जनप्रतिनिधिसँग सम्पर्क गराएर त्यही एम्बुलेन्समा पठाइयो। प्रहरीले एम्बुलेन्स नरोकेको भए भारतबाट आएका ती व्यक्तिबारे थाहा हुने थिएन।  

बुधबार दिउँसो एउटा एम्बुलेन्स बारपाकका लागि बिरामी ल्याएको भन्दै गोरखा प्रवेश गर्‍यो। चालकसहित त्यहाँ आठ जना थिए। बिरामी बोक्ने एम्बुलेन्समा एकजना बिरामी र अन्य सबै यात्रु थिए। प्रहरीलाई भने उनीहरुले आफ्नो परिवार भित्रकै सदस्य रहेको बताउँदै गन्तव्यतर्फ लागे।  

यी दुई एम्बुलेन्स मात्र होइन, अहिले अधिकांश गोरखा भित्रने एम्बुलेन्सले बिरामीको बहानामा यात्रु बोक्ने गरेका छन्। बिहीबार १० देखि १२ वटा एम्बुलेन्स गोरखा भित्रिएको मझुवामा रहेको चेकपोष्टमा रेकर्ड छ। त्यहाँ खटिएका कर्मचारी, सुरक्षाकर्मी एम्बुलेन्सले बिरामी बोकेको होला भनेर खासै चासो गर्दैनन्। तर एम्बुलेन्सले यात्रु बोक्ने गरेको भेटेपछि कडाई गर्न थालिएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए। ‘बिरामी लिन गएको, पुर्‍याएर फर्किएको बहानामा एम्बुलेन्सले गाउँगाउँमा भारतबाट आएका, काठमाडौँ, चितवनलगायत ठाउँमा यात्रु ओसारपोसार गरिरहेका छन्। यात्रुलाई बिरामी बनाएर एम्बुलेन्स अत्यधिक गुड्ने गरेको छ।  

अन्य समयमा बिरामी र बढीमा दुईजना आफन्त बोकेर हिँड्ने एम्बुलेन्स अहिले खचाखच यात्रुलाई बिरामी कुरुवा, आफन्त बनाएर कुद्ने गरेको छ। कतिपय एम्बुलेन्सले खाली प्याक राख्ने र औषधि खरिद गरेर आएको बाहना बनाउँदै यात्रु ओसार्ने गरेका छन् ।  

यो समस्या भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै एम्बुलेन्सले बिरामी बाहेकका यात्रु ओसारेको गुनासो बढेकाले त्यस्ता एम्बुलेन्स संचालक, चालक र सवार हुने व्यक्तिलाई कारवाही गर्ने जनाएको छ। प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले सूचना जारी गर्दै संक्रामक रोग ऐन २०२० अनुसार कैद तथा जरिवाना हुने बताएका छन्।

प्रकाशित: २४ वैशाख २०७८ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App