समाज

बुटवलका जनप्रतिनिधिको अस्पतालमा बेड नपाउँदा एम्बुलेन्समै मृत्यु

रुपन्देहीमा शुक्रबार थप चारजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दुईजनाको  प्रादेशिक अस्पताल, एकजना कोभिड अस्पतालमा र अर्का एकजनाको अस्पताल भर्नाको पालो कुर्दाकुर्दै एम्बुलेन्समै मृत्यु भएको हो ।

रुपन्देहीका एकजना जनप्रतिनिधिको अस्पतालमा बेड नपाएर उपचार अभावमा एम्बुलेन्समै मृत्यु भएको छ । बुटवल उपमहानगर– ७ का ४४ वर्षीय वडा सदस्यको अस्पताल चार्हादा चाहार्दै एम्बुलेन्समै मृत्यु भएको हो । उनलाइ सातदिन अघि संक्रमण पुष्टि भएको थियो । सुरुदेखि नै स्वास्थ्य समस्या देखिएका उनलाइ तीन दिन अघि पनि अस्पताल भर्ना हुन भन्दै बुटवल–भैरहवा चाहारेर बेड नपाएपछि घरमै अक्सिजन लगाएर राखिएको उनका परिवारले बताएका छन् ।  

बिहीबार अपरान्ह देखि स्वासप्रश्वासमा गम्भिर समस्या देखिएपछि अस्पताल भर्नाका लागि परिवारले बुटवल र भैरहवा क्षेत्रका अस्पताल चाहारेका थिए । तर बेड खाली नभएपछि एम्बुलेन्समै अक्सिजन दिएर राखिएको थियो । अस्पताल भर्नाका लागि पर्खदा पर्खदै उपचार नपाएरै उनको मृत्यु भएको बुटवल–७ का वडा अध्यक्ष कमलप्रताप थापाले बताए ।  

यससँगै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौमले बताए । मृत्यु हुनेमा बुटवल तामनगरका ६५ वर्षे पुरुष, तिलोत्तमा नगरपालिका–१ की ६५ वर्षीया  महिला र ४३ वर्षे पुरुष रहेको डा. गौतमले बताए । 

प्रकाशित: २४ वैशाख २०७८ ०८:११ शुक्रबार

जनप्रतिनिधि एम्बुलेन्समै मृत्यु