समाज

प्रदेश २ : गाउँपालिका अध्यक्षसहित ४ सय ४१ जना संक्रमित थपिए

प्रदेश २ मा बुधबार ४ सय ४१ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै सक्रिय संक्रमितको ४ हजार ४०९ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार धनुषामा ११७, पर्सामा १११, बारामा ३१, रौतहटमा ५, सर्लाहीमा १०, महोत्तरीमा ७१, धनुषामा १४०, सप्तरीमा ४३, सिरहामा ५० जना संक्रमित थपिएका छन्।

सक्रिय संक्रमित मध्ये ३०८५ पुरुष र १३२४ महिला गरी ४४०९ संक्रमित घरमै छन्। १३० पुरुष र ६३ महिला गरी १९३ जना संक्रमित मात्र अस्पतालमा भर्ना छन्। प्रदेश २ को महानगर वीरगन्जपछि प्रदेश २ को मुकाम जनकपुरधाम कोरोनाको हटस्पट बनेको छ। बारा, महोत्तरी र सिरहा पनि हटस्पटउन्नमुख छ।  

सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादव र पालिकाका तीन कर्मचारीमा बिहीबार संक्रमण पुष्टि भएको छ। यस गाउँपालिकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भैरहेको छ। सम्पर्क व्यतिmहरुलाई क्वारेन्टिन बस्न भनिएको यादवले बताए।

सक्रिय संक्रमितको संख्या थपिँदै गएपछि सिरहामा साँझ ५ बजेपछि बजार खोल्न प्रशासनले रोक लगाएको छ। जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरिएको छ। हटियालगायत भीडभाड हुने कार्यक्रममा पूर्णतः रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।  

सप्तरीमा सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले शनिबारबाट राजविराज बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

सक्रिय संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि बुधबारबाट महोत्तरीमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबारबाट धनुषा प्रशासनले जिल्लाभर निषेधाज्ञा छ। पर्सामा गत बिहीबारबाट नै निषेधाज्ञा जारी छ।

प्रकाशित: २३ वैशाख २०७८ १६:२८ बिहीबार

प्रदेश २ मा काेराेना