समाज

कोरोनाले रौतहटमा लियो नौ जनाको ज्यान

कोरोनाको दोस्रो लहरले रौतहटमा अहिलेसम्म नौ जनाको ज्यान लिएको छ। गत दश दिनको अवधिमा कोरोना भाइरस संक्रमणका कारण रौतहटमा नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

मृतकमध्ये गौर र गढीमाई नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका दुई/दुई रहेका छन् भने माधवनारायण, फतुवाविजयपुर र कटहरिया नगरपालिकाका एक/एक जना रहेका छन्। मृत्यु हुनेमा तीन जना महिला र छ जना पुरुष रहेका छन्।  

मृत्यु हुनेमा दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाका अवधबिहारी सिंहका ५५ वर्षीय छोरा बालकिशोर सिंह र दुर्गाभगवती गाउँपालिका ३ मन्सरीका फौदी साहकी ५४ वर्षीया श्रीमती पवनदेवी साह रहेकी छन्। सिंहको उपचारको क्रममा रौतहटमै तथा साहको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको हो।  

यसैगरी गौर नगरपालिका २ महादेवपटीका ५५ वर्षीय जगदीश बैठाको उपचारको क्रममा जिल्लामै मृत्यु भएको छ भने गौर नपा १ गौरका गणेशप्रसाद कानुका ५४ वर्षीय छोरा चन्द्रिकाप्रसाद कानुको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ। यस्तै गढीमाई नगरपालिका ३ पर्साका जगदीशलाल कर्णका ५० वर्षका छोरा विनोद कर्णको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ भने गढीमाई नगरपालिका ४ सुन्दरपुरका जलेश्वरप्रसाद साहका ३६ वर्षीय छोरा देवप्रकाश साहको पनि उपचारको क्रममा वीरगंजमा नै मृत्यु भएको छ।

यसैगरी कटहरिया नपा ६ फत्तेपुरकी ६० वर्षीया सोनियादेवी, माधवनारायण नगरपालिका ७ फुलबरियाका निरसल साहकी ५० वर्षीया श्रीमती कृष्णादेवी साह र फतुवाविजयपुर नगरपालिका ८ विजयपुरका जगदेव राय यादवका ७० वर्षका छोरा राजेन्द्रप्रसाद यादवको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अन्य जिल्लामा मृत्यु भएको भए पनि जिल्लामा ल्याएर सद्गत गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

जिल्लामा कोरोना संक्रमणको विस्तार भइरहेकोले सजगता अपनाउन सबैतिरबाट आग्रह भइरहेको छ तर पनि अपेक्षित सतर्कता नअपनाइँदा संक्रमण हरेक दिन विस्तार भइरहेको छ। बुधवारसम्म जिल्लामा संक्रमितको संख्या २१५ पुगेकोमा २५ जनाको रिपोर्ट पुनः निगेटिभ आइसकेको छ। रौतहटमा बुधवारसम्म सक्रिय संक्रमितको संख्या १९० रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७८ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App