समाज

रसुवामा अत्यावश्यक बाहेकका पसलहरू दैनिक चार घण्टा मात्र खुल्ने

रसुवामा अत्यावश्यक सामग्री बिक्री गर्ने बाहेक अन्य पसल दैनिक चार घण्टा मात्र खोल्न पाइने भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि अत्यावश्यक बाहेकका सामग्री बिक्री गर्ने पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने भएको हो ।

जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेको संख्या न्यून रहेको र कोरोना संक्रमण बढ्दै गएको कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रसुवाको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बजारमा भीडभाड हुँदा कोरोना संक्रमणको जोखिम पनि बढी हुने भएकाले निश्चित समय मात्र पसल खोल्न दिइएको हो । बजार क्षेत्रमा अनावश्यक रूपमा हिँडडुल गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई प्रचलित कानुन अनुसार कार्वाही हुने छ ।  

यसका लागि जिल्लास्तरीय अनुगमन टोलीले नियमित रूपमा अनुगमन गर्नुका साथै चेकजाँच गर्ने छ । जिल्लाभित्र प्रवेश गर्ने मालवाहक सवारी साधनहरूमा चालक र सहचालक मात्र रहने व्यवस्था सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने छ ।  

जिल्ला प्रवेश गर्दा बेत्रावतीमा चालक तथा सहचालकको नाम, थर, ठेगाना, सम्पर्क नम्बर,  खाना खाने तथा बास बस्ने स्थानको विस्तृत विवरण पेस गर्नुपर्ने र मालवाहक सवारी साधन गन्तव्य स्थानमा पुगेर मात्र रोक्न पाइने छ ।  

प्रकाशित: २३ वैशाख २०७८ ०६:०४ बिहीबार