समाज

सुदूरपश्चिममा कोरोनाः युवा संक्रमित बढी

प्रदेश स्वास्थ्य निर्देशनालयको उमेरगत तथ्यांक ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस भित्रिएसँगै सुदूरपश्चिममा संक्रमणको दर बढ्दो छ। त्यसमा पनि युवाहरुमा संक्रमण दर उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको एक तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा २० देखि २९ वर्ष उमेर समूहका युवाहरु सबैभन्दा बढी संक्रमित भएका छन्।  

सुदूरपश्चिम प्रदेशमा उमेर समूहका आधारमा गरिएको पिसिआर परीक्षणमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको हो। पिसिआर विधिद्वारा गरिएको परीक्षणमा २० देखि २९ वर्ष उमेर समूहका ५ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक हजार ६ सय ५९ युवती र ४ हजार २ सय ५२ युवक रहेका छन्। यस्तै ३० वर्षदेखि ३९ वर्ष उमेर समूहका ४ हजार ३ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये १ हजार ८ जना महिला र ३ हजार ३ सय १० जना पुरुष रहेका छन्। ४० देखि ४९ वर्ष उमेर समूहका २ हजार १ सय ४८ जना संक्रमित भएका छन्। यी मध्ये ५ सय २१ जना महिला र १ हजार ६ सय ३६ जना पुरुष रहेका छन्। 

क्रमागत अनुसार ४० देखि ४९ वर्ष उमेर समूहपछि किशोरहरु बढी छन्। १० देखि १९ वर्ष उमेर समूहका किशोर १ हजार ५९२ जना संक्रमित भएका छन्। यी मध्ये ४ सय ८५ जना किशोरी र १ हजार १०७ जना किशोर रहेका छन्। किशोरपछि ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार १ सय १२ जना संक्रमित भएका छन्। जसमध्ये २ सय ७५ जना महिला र ८ सय ३७ जना पुरुष छन्। बालबालिका पनि कोरोनाको संक्रमणबाट अछुतो रहन सकेनन्। जन्मेदेखि ९ वर्ष उमेर समूहका बालबालिका मध्ये ८ सय ३४ जना संक्रमित भएका छन्। संक्रमित बालबालिका मध्ये ३ सय ४१ जना बालिका र ४ सय ९३ जना बालक रहेका छन्।    

प्रदेश स्वास्थ्य निर्देशनालयको उमेरगत समूहका आधारमा गरिएको वर्गीकरणअनुसार सबैभन्दा कम ९० देखि ९९ वर्ष उमेर समूहका १० जनामा कोरोना संक्रमण देखिएको छ। केही समय यता गरिएको पिसिआर परीक्षण र वैशाख ९ गते यता एन्टिजेन विधिमार्फत् गरिएको परीक्षण पश्चात् अहिलेसम्म सुदूरपश्चिममा १ सय २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।  

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका युवामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने,‘यो उमेर समूह भनेको चलायमान उमेर समूह हो, त्यसैले पनि बढी संक्रमणको जोखिममा देखिएको हो।’ अर्को कुरा भनेको केही महिना अघि सरकारले निःशुल्क लगाएको कोरोनाविरुद्धको खोप पनि यो समूहले नपाएका कारण बढी प्रभावित भएको हुनसक्ने आँकलन उनले गरे। ‘युवा समूहले कोरोनाविरुद्धको भ्याक्सिन पनि पाएनन्,’ उनले भने,‘त्यसले पनि प्रभाव पारेको हुन सक्छ।’ 

राजनीतिक गतिविधिमा पनि युवा समूह चलायमान हुनु, शिक्षा आर्जनका क्षेत्रमा पनि यही समूह रहनु, खेलकुद, रोजगारी तथा अन्य आयआर्जनका गतिविधिमा पनि युवा समूह नै अगाडि रहेको बताउँदै उनले भने,‘बढी चलायमान उमेर समूह यही भएका कारण कोरोनाको बढी जोखिममा परेको र त्यही समूह कोरोना संक्रमणमा उच्च दर रहेको देखिन्छ।’

प्रकाशित: २१ वैशाख २०७८ १०:३१ मंगलबार

प्रदेश स्वास्थ्य निर्देशनालय नयाँ भेरियन्टसहितको कोरोना भाइरस