समाज

दुई जनालाई कोरोना संक्रमण भएपछि वडा नै सिल

एकैसाथ दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई सिल गरिएको छ। 

५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सोमबार वडालाई सिल गरिएको हो। संक्रमितसँगको सम्पर्कमा पुगेका व्यक्तिको कन्ट्याक्ट ट्रोसिङ सुरु गरिएको र कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तिको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए।  

कोरोना संक्रमित फेला परेसँगै वडा कार्यालयभित्र प्रवेश गर्न र वडाको क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ। यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए। गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो।  

काठमाडौंमा अध्ययनरत रोका वैशाख १५ गते र खत्री चितवनबाट वैशाख १६ गते घर आएका हुन्। उनीहरु दिक्तेलबजार हुँदै घर पुगेको खुलेको छ। हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए।  

खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परीक्षणमा तत्परता देखाएको हो। हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तिको पिसिआर परीक्षणमा ध्यान पुर्‍याउन सकेको छैन।

प्रकाशित: २० वैशाख २०७८ १५:०० सोमबार

कोरोना संक्रमण