समाज

प्रदेश १ मा थपिए ४ सय १७ संक्रमित, चारको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ भारतीयसहित ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार प्रदेशमा ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरसँग सीमा जोडिएको भारतीय जोगबनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालले जनाएको छ । विराटनगरमा आफन्त कहाँ बसेर व्यापार व्यवसाय गर्दै आएका पुरुषलाई कोरोना पुष्टि भएपछि वैशाख १० गते अस्पताल भर्ना भएका थिए । यस क्रममा उनमा निमोनियाको समेत  समस्या देखिएको अस्पतालको कोभिड १९ इन्चार्ज सुनिल देवले बताए ।  

विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धा महिलाको आइतबार बिहान ६ बजेर ४० बजेमा मृत्यु भएको विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रले जनाएको छ । कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको केन्द्रका संयोजक बैजनाथ साहले बताए ।  

सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धाको शनिबार राति ९ बजे उपचारका क्रममा मृत्यु भएको कोसी अस्पतालले जनाएको छ । महिलालाई शनिबार नै उपचारका लागि केन्द्रमा भर्ना गरिएको केन्द्रका संयोजक साहले बताए ।  

ताप्लेजुङकी ५९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । वैशाख १३ गते कोरोना पुष्टि भएपछि १४ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए । मृतक पुरुष उच्च रक्ताचापका बिरामीसमेत रहेको प्रतिष्ठानले जनाएको छ ।  

त्यसैगरी, प्रदेश १ मा आइतबार ४ सय १७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९८ महिला र १ सय २ पुरुषसहित २ सय जना, सुन्दरहरैंचामा १६, बुढीगंगामा ६,  बेलबारीमा ४, उर्लाबारीमा ३,  रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, बर्जु र गढीमा १–१ जनामा संक्रमण देखिएको छ ।  

झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १, तेह्रथुमको म्याङ्लुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३ सय ३४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ६९ पुगेको छ ।

प्रदेशमा आइतबार ९ सय ७८ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ७० महिला र २ सय ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १९ वैशाख २०७८ १४:३२ आइतबार

प्रदेश १