समाज

विद्युत कर्मचारीमाथि इँटा उद्योगीद्वारा कुटपिट

विद्युत चुहावट नियन्त्रण गर्न हिँडेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई इँटा उद्योग संचालकहरुले कुटपिट गरेका छन्।

शिवराज नगरपालिका ८ पटपरमा रहेको मनकामना इँटा उद्योगका संचालकहरुले विद्युत प्राधिकरण कृष्णनगर बितरण केन्द्रका कर्मचारीलाई निर्घात कुटेका हुन्। कुटपीटबाट सरोज थारु र मथुराप्रसाद चौधरी घाइते भएको प्राधिकरणले जनाएको छ। दुबैको शरीरमा निलडाम, नाक र मुखमा चोट लागेको छ।

दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। लामो समयदेखि विद्युत बक्यौता नतिरेकाले उद्योगको ६ महिनाअघि नै लाईन काटिएको थियो। उद्योगले  २ लाख १९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता धेरै समयदेखि नतिरेको र हुकिङबाट विद्युत आपुर्ति गरेको सूचनाका आधारमा प्राधिकरणका ५ सदस्यीय टोली उद्योगमा पुगेको थियो।

हुकिङ गरी चलाइएका ३ मोटरमध्ये २ वटा झिकेर गाडीमा लोड समेत गरिएको थियो। तेस्रो मोटर झिकेर गाडीमा राख्ने क्रममा उद्योगका ६/७ जनाले आफूहरुमाथि आक्रमण गरेको घाइते मथूराले बताए। ‘५ सदस्यीय टोली ज्यान जागाएर भाग्न खोज्दा गाडीको चाबी खोसे, गेटको ढोका थुनेर हामीलाई निर्घात कुटे’ उनले भने।

कर्मचारीहरुमाथि सुशीलकुमार शुक्ला, आनन्दकुमार शुक्ला र उनका भाइ र भतिजहरुले कुटपिट गरेको विद्युत प्राधिकरणले जनाएको छ। विद्युत कर्मचारीहरु कोशलराज चौधरी, भुपेन्द्र चौधरी, उमेशकुमार शाह, सरोज थारु र मथुराप्रसाद चौधरी चुहावट अभियानमा थिए।

प्राधिकरण कृष्णनगरले सो सम्बन्धमा विज्ञप्ति निकाल्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ।

प्राधिकरणका प्रमुख कमर आलम खानले विद्युत कर्मचारीमाथि हातपात गर्नेहरुलाई हदैसम्मको कारबाही गर्न माग गरिएको बताए।  

घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका ८ पटपरका सुशीलकुमार शुक्ला र आनन्दकुमार शुक्ला रहेका छन्। उनिहरुमाथि अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्ष धर्मराज भण्डारीले बताए।

प्रकाशित: १८ वैशाख २०७८ ११:२७ शनिबार

कुटपिट नेपाल विद्युत प्राधिकरण