समाज

काभ्रेमा निषेध आदेश जारीः निर्माण सामग्री ढुवानीमा छुट!

उपत्यकासँग सीमा जोडिएको काभ्रेले ‘निर्माण सामग्री ढुवानीमा छुट दिने प्रावधान’ राखेर निषेध आदेश जारी गरेको छ। काभ्रेमा कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार राति १२ बजेबाट लागू हुने गरी आंशिक निषेध आदेश जारी गरेको हो।

काभ्रेका सहायक जिल्ला अधिकारी एवं सूचना अधिकारी अमरदीप सुनुवारले काभ्रे जिल्ला पनि कोरोना संक्रमणको जोखिममा पर्दै गएको बताउँदै निषेध आदेश जारी गरेको बताए। ‘दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेका छन्, हिजोसम्म यहाँ ३०० बढी संक्रमित भइसकेका छन्, संक्रमणको चेक ब्रेक गर्न पनि हामीले यो निर्णय लिएका हौं।’ सहायक प्रजिअ सुनुवारले भने।

कार्यालयले अरनिको राजमार्गको साँगादेखि बनेपा–धुलिखेल–पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपादेखि नाला भगवतीसम्म सडकको दाँया–बाँया ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दाँया–बाँया ५ सय मिटर, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दाँया–बाँया २ सय मिटर र पाँचखालको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेध आदेश जारी गरेको छ।

प्रशासनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काभ्रेलाई पनि कोरोना संक्रमण उच्च भएको जिल्लाको रुपमा ‘रेड जोन’मा राखेपछि राजमार्ग वरपरका स्थानहरुमा निषेध आदेश जारी गरिएको कार्यालयले जनाएको छ।

‘राजमार्गहरुमा सवारी साधन नचलून र राजमार्गसम्मको पहुँच नहोस्, बजार क्षेत्रमा भीड नहोस् भनेर हामीले ती क्षेत्रहरुमा निषेध जारी गरेका हौं,’ उनले भने। उनले प्रशासनले निषेध गरिएका क्षेत्रहरु अन्य क्षेत्रहरुभन्दा जोखिमको क्षेत्र भएको पनि बताए।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ‘जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुंगा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राती ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने’ पनि निर्णय गरेको छ।

सहायक प्रजिअ सुनुवारले राष्ट्रिय गौरबका योजनाहरु सञ्चालन भइरहेको कारण र जिल्लामा पनि विभिन्न विकास निर्माण भइरहेको कारण निर्माण सामग्रीको अभाव हुन नदिनका लागि उक्त निर्णय गरिएको बताए।

प्रकाशित: १८ वैशाख २०७८ ०९:२९ शनिबार

छुट निर्माण सामग्री ढुवानी काभ्रे