समाज

सीमामा होल्डिङ सेन्टर बनाउन प्रजिअहरुको मुख्यमन्त्रीलाई आग्रह

प्रदेश २ को आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल मिटिङमा मुख्यमन्त्री लालबाबु राउत । तस्बिर सौजन्य : मुख्यमन्त्रीको सचिवालय

प्रदेश २ को आठवटै जिल्लाको सीमा भारतसंग जोडिएको छ । चार सय ६४ किलोमिटर सीमा रहेको यस प्रदेशमा एक सय ८६ वटा नाका छन् । जसमध्ये ७२ बिओपी र ३२  वटा नाकामा सुरक्षा पोष्ट छ । सुरक्षाकर्मीको उपस्थिति बिनाका बाँकी नाकाहरू पारिबाट (परदेश) घर फर्किनेहरूले ‘चोरबाटो’ को रुपमा प्रयोग गरिरहेका छन् ।  

प्रदेश २ सशस्त्र प्रहरी प्रमुख चन्द्रप्रकाश गौतमका अनुसार १४ वटा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । जसमा थर्मल गनले तापक्रम नापेर तथ्यांक राख्ने गरिएको उनले बताए । नाकामा सकेसम्म चुस्त सुरक्षा र स्वास्थ्य जाँचको बन्दोबस्त मिलाइएको उनको भनाई छ । सुरक्षा पोष्ट भएको नाकाबाहेकका पनि धेरै खुल्ला नाका छन् । जुन सुरक्षाकर्मीहरुका लागि चुनौती थप्दैछ ।  

चोर बाटोले यहाँका स्थानीयवासीमा मात्र नभई सरकारको पनि टाउँको दुखाई बनेको छ । मुख्यमन्त्री लालबाबु राउतले सीमाबाट लुकिछिपि हुने प्रवेश कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिरहेको बताए । उनी भन्छन्,‘ खुल्ला सीमानाका कारण हुने आउजाउले जोखिम बढाउँदै छ । हामी सीमा सिल गर्न संघीय सरकारलाई गुहारेका छौं, उनले भने । सीमाबाट हुने प्रवेश पूर्ण रुपमा नरोकिँदा जोखिम ज्यूँका त्यूँ छ ।’  

शुक्रबार प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग मुख्यमन्त्री लालबाबु राउतले भर्चुअल सम्बाद गरेका छन । कोरोना महामारीको अवस्थाबारे जानकारी लिन शुक्रबार प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल संवादको क्रममा मुख्यमन्त्री राउतले कोरोना परीक्षणमा समस्या आउन नदिन प्रदेश सरकारले आठ वटै जिल्लामा आरटी पिसिआर मेसिन संचालनमा ल्याइसकेको प्रमुख जिल्ला अधिकारीहरुलाई जानकारी गराएका थिए । संक्रमितको उपचारका लागि प्रदेश सरकार तयार अवस्थामा रहेको जानकारी गराएका थिए ।  

पछिल्लो समय तीव्र गतिमा बढ्दै गएको कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रणका लागि जिल्लाहरुमा भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरुबारे सुझाव लिन मुख्यमन्त्री राउतले प्रमुख जिल्ला अधिकाहरीहरुसँग भर्चुअल संवाद गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतसँगको भर्चुअल संवादमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागि आठ वटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गर्न सुझाव दिएका छन् । जिल्ला अस्पताल र प्रयोगशालामा जनशतिm अभाव, शव वाहन अभाव, औषधि अभाव, अक्सिजनको समुचित बन्दोबस्त गर्नुपर्ने प्रजिअहरुले मुख्यमन्त्रीलाई सुझाव दिएका थिए । स्थानीय तहहरुले आइसोलेसन स्थापनाका लागि सक्रियता नदेखाएका कारण आइसोलेसन खर्च प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउनसमेत प्रजिअहरुले सुझाव दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले प्रदेश सरकारलाई बजेटसहितको कार्यक्रम ल्याएर विगतमा आइसोलेसनमा काम गरेका स्वास्थ्यकर्मी, कर्मचारीको बाँकी तलबभता तत्कालै भुक्तानी गर्न सुझाव दिएका छन् । पहिलो चरणमा प्रदेश सरकारको निर्देशनमा सञ्चालित आइसोलेसनमा काम गर्ने कर्मचारी भुक्तानी नपाएको गुनासो प्रमुख जिल्ला अधिकारीहरुले गरेका थिए । सिरहाका तीन नाकामा बजेटसहितको हेल्प डेस्क, होल्डिङ सेन्टर र सिचुएसन सेन्टर स्थापनाको माग गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

छलफलमा मुख्यमन्त्री राउतले प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई महामारीको रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका छन् ।  

भर्चुअल संवादमा प्रदेश सरकारको तर्फबाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, समाजिक विकास मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु सहभागी थिए ।

बढ्दो कोरोना संक्रमण

शुक्रबार प्रदेश २ मा २८६ जना संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या २१३६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी पर्सामा १२५५, बारामा २५१, रौतहटमा १२३, सार्लाहीमा १६, महोत्तरीमा ८६, धनुषामा २८५, सिरहामा ४९ र सप्तरीमा ७१ जना सक्रिय संक्रमित छन् । संक्रमित बढी भएको पर्सा, बारा र धनुषा जिल्लालाई सरकारले शुक्रबार रेड जोनको सूचीमा रोखेको छ । पर्सामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित: १७ वैशाख २०७८ १५:२२ शुक्रबार

सीमामा होल्डिङ सेन्टर प्रदेश २