समाज

गोरखामा एकै गाउँका ६२ जनालाई काेराेना संक्रमण

गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा एकै गाउँका ६२ जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार ३३ जना र गतबुधबार २९ जनालाई संक्रमण भएको हो। यी सबै एकै गाउँका तीन वर्षदेखि ६७ वर्ष उमेरका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए।  

गाउँपालिकाको स्वास्थ्य शाखाले बुधबार स्वाब संकलन गरेको एक सय ७५ मध्ये ३२ जना, गोरखा नगरपालिकाबाट स्वाब दिएका सोही ठाउँका एक गरी ३३ जनाको शुक्रबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। यस्तै, २९ जनालाई गत मंगलबार संक्रमण पुष्टि भएको छ।  

मंगलबार र शुक्रबार गरी संक्रमित हुनेको संख्या एकै गाउँमा ६२ पुगेको हो। यस्तै गोरखा नगरपालिका वडा नम्बर ८ का नौ र आरुघाट गाउँपालिका ७ का एक जना गरी शुक्रबार गोरखामा ४३ जना संक्रमित थपिएका छन्। यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय चार पुगेको छ। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन्।  

संक्रमण बढेसँगै भिमसेन थापा गाउँपालिका ७ मा आउजाउ प्रतिबन्ध गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए। स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन, चेतनामुलक कार्यक्रम, मास्क वितरण गरिएको उनले बताए।  

संक्रमितको संख्या बढेसँगै गोरखा भित्रने मुख्य नाका गोरखा नगरपालिकाको मझुवा देउराली, आरुघाट, पालुङटारको हवाई ग्राउण्डमा हेल्थडेस्क स्थापना गरिएको छ। जिल्ला भित्रनेहरुको चेकजाँच र यात्रा बिवरणबारे जानकारी लिन हेल्थडेस्क राखिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए।

प्रकाशित: १७ वैशाख २०७८ १२:१२ शुक्रबार

काेराेना संक्रमण