समाज

घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति

शुक्रबार बिहान मोरङको जहदा गाउँपालिकाको एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। जहदा गाउँपालिका–१ बुधनगरका लोकेश्वर सरवरियाको घरमा शुक्रबार बिहान ३ बजे आगलागी भएको मोरङ प्रहरीले जनाएको छ। 

टिनको छानो र टाटीको बेरा भएको चार कोठे घर जलेर ध्वस्त हुनुका साथै गाईगोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, सुनचाँदीलगायतका सामाग्री जल्दा १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। 

आगलागीबाट कुनै पनि मानवीय र पशुको क्षति नभएको प्रहरीले जनाएको छ। घरमा विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने डिएसपी राईले बताए। स्थानीय, नेपाल तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १७ वैशाख २०७८ ०७:१५ शुक्रबार

घरमा आगलागी