समाज

चट्याङ लाग्दा बालकको मृत्यु

पूर्वी रोल्पामा चट्याङ लागि एक बालकको मृत्यु भएको प्रहरीले बताएको छ। सुनछहरी गाउँपालिका ५ जेल्बाङका आशबहादुर पुनका ९ बर्षे छोरा अभिषेक पुनलाई बिहिवार बेलुका चट्याङ लाग्दा मृत्यु भएको हो।  

चट्याङ लागेका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटो मै मृत्यु भएको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार पोषण भत्ताका लागि बैङ्क खाता खोल्न गाउँपालिकाको केन्द्र पोवाङ गएर फर्कदै गर्दा पुनलाई चट्याङ लागेको थियो।

सुवेदीका अनुसार बिहिबार बेलुका परेको चट्याङका कारण परिबर्तन ३ कि अमन कुमारी रानाको घरमा समेत आगो लागेको थियो। प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको भए पनि घरमा रहेका अन्नपात र लुगा लत्ता जलेको छ।

त्यसै गरि त्रिबेणी २ दहबनमा पनि बिहिवार बेलुकि परेको चट्याङका कारण स्थानिय कृष्ण केसिको घरमा आगलागी भएको छ। घरमा आगलागी भए पछि प्रहरी र स्थानियको सहयोगमा उद्यार गरिएको थियो।

प्रकाशित: १७ वैशाख २०७८ ०२:२७ शुक्रबार

बालकको मृत्यु