समाज

जुलोजिकल पार्कको विवाद दुई वर्षपछि सुल्झियो

प्रदेश सरकारको डेढ करोड बजेटबाट बाटो र खोर मर्मतमा खर्च गरिने

पोखरा–३१ स्थित जुलोजिकल पार्कमा राखिएको जनावर । तस्बिर: नागरिक

जुलोजिकल पार्कको रहेको विवाद झण्डै दुई वर्षपछि अन्त्य भएको छ । पचभैया वन सामुदायिक उपभोक्ता समितिको नयाँसमिति चयनसँगै पार्कको विवाद टुंगिएको हो । पार्क सञ्चालन गर्न निजी क्षेत्रबाट कम्पनी रजिष्ट्रारको कार्यालयबाट ‘पोखरा जुलोजिकल पार्क’ स्थापना गरेसँगै विवाद शुरु भएको थियो । कम्पनीमा आफु अनुकुलका सदस्यलाई पचभैया सामुदायिक वनको नेतृत्वमा ल्याएपछि विवाद शुरु भएको थियो । विवाद सजिलै सुल्झन नसकेपछि उच्च अदालत पोखरामा मुद्धा परेको थियो ।  

उच्च अदालतले सामुदायिक वनको क्षेत्राधिकार अनुसार जिल्ला वनले हेर्ने र निर्णय गर्ने आदेश जारी गर्यो । उच्च अदालतको आदेशलाई ध्यानमा राख्दै विवाद सुल्झाउन जिल्ला वन कार्यालयले पचभैया सामुदायिक वनको नेतृत्वको लागि निर्वाचनमा जाने निर्णय गर्यो । पोखरा महानगरपालिका– ३१ का वडाध्यक्ष कमलबहादुर थापाको संयोजकत्वमा डिभिजन वन कार्यालय र प्रदेश वन निर्देशनालयका पदाधिकारीका उपस्थितिमा निर्वाचन गराईयो ।  निर्वाचनले दिननाथ ढकालको अध्यक्षतामा ११ सदस्यीय पचभैया सामुदायिक वन उपभोक्ता समितिको चयन गर्यो । चयन भएको नयाँ कार्यसमितिलाई चैत १४ गते सपथ खुवाइएको थियो । सामुदायिक वनमा ४६६ जना सदस्य छन् ।  

एउटा सामुदायिक वनमा रहेको विवादले जुलोजिकल पार्कको सम्पूर्ण कामकाज रोकिन पुगेको थियो । ढकालसँगै नेतृत्वमा आउनुअघि भेलाले अर्को व्यक्तिलाई अध्यक्षको जिम्मेवारी तोकिएपछि विवाद शुरु भएको थियो । ‘पचभैया सामुदायिक वनको नयाँ नेतृत्वसँगै विवाद सुल्झिएको छ,’ नव निर्वाचित अध्यक्ष दिननाथ ढकालले भने, ‘अब पार्कको काम अघि बढ्छ ।’ पोखरा–१० अमरसिंहचोकमा रहेको युनाईटेड क्लबले पाँचवर्ष अघि चिडियाखानाको अवधारणा अघि सार्दै पार्क बनाउन शुरु गरेको हो । पार्कको लागि क्लबले ५५ लाख रुपैयाँ खर्च गरिसकेको छ । पार्कमा घाईते भएका वन्यजन्तुलाई उद्दार गरेर समेत राखिदै आएको छ । घाईते वन्यजन्तुको उद्दारको लागि एम्बुलेन्स समेत राखिएको छ । पचभैया, चायपानी–चिसापानी र चैनपुर सामुदायिक वनलाई समेटेर १३५ हेक्टर क्षेत्रफलको बनलाई पार्कको रुपमा विकास गरिने लक्ष्यसहित काम गरिएको छ ।  

पार्कलाई व्यवस्थित गर्न यो वर्ष प्रदेश सरकारले डेढकरोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेटबाट चैनपुर र चायापानी–चिसापानी सामुदायिक वनलाई १५÷१५ लाख रुपैयाँ दिईनेछ । ‘चैनपुर र चायापानी चिसापानी सामुदायिक वनले पनि बजेट मागेपछि १५÷१५ लाख रुपैयाँ छुट्टाउने निर्णय समेत गरिएको छ,’ अध्यक्ष ढकालले भने, ‘छुट्टाइएको बजेटबाट दुई सामुदायिक बनमा फुटटे«ेल बनाईने छ ।’ प्रदेश सरकारकै गौरबको योजनाको रुपमा अघि सारिएको पार्कसम्म पुग्ने बाटो तथा खोर मर्मत सम्भारमा खर्च गरिने योजना रहेको अध्यक्ष ढकालले बताए । डिभिजन वन कार्यालय कास्कीका जिल्ला वन अधिकृत केदार बरालले पार्कको विस्तृत परियोजना प्रतिवेदन बनिसकेको बताउँदै परियोजना अनुसार आगामी वर्ष पूर्वाधारमा थप खर्च गर्ने योजना रहेको बताए ।  

‘बजेट सामुदायिक वनकै खातामा पठाउँछौ । सम्झौता गरेर सामुदायिक वन उपभोक्ता समितिले नै काम गर्ने छ ’ वन अधिकृत बरालले भने, ‘टे«ल बनाउन दुई सामुदायिक बनलाई ३० लाख रुपैयाँ र बाँकी रकम पार्कसम्म पुग्ने लिंक रोड र खोर मर्मतमा खर्च हुन्छ ।’ पार्कमा चितुवाको खोर स्तरोन्नति गरिने छ । बनाईएको ३ वटा खोरलाई व्यवस्थित गरिने छ । साँघुरो भएको मृगस्थलीलाई १० लाख रुपैयाँ खर्च गरेर व्यवस्थित बनाईने उनले बताए । पार्कको लागि युनाईटेड क्लबले ५५ लाख, प्रदेश सरकारबाट ७० लाख, डिभिजन बन कार्यालयबाट २० लाख र मृगस्थल बनाउन पोखरा महानगरपालिकाले १४ लाख रुपैयाँ खर्च गरेको तथ्यांक छ । डिभिजन बन कार्यालयले यो वर्षको बजेटबाट स्तरोन्नति गरिदैं आगामी वर्षको बजेट सम्भव भएसम्म प्रवेशद्वार बनाई काउण्टर राखेर टिकेटिङ शुरुवात गरिने जनाएको छ । आम सर्वसाधारणको लागि समेत आगामी वर्ष अझ व्यवस्थित बनाई खुला गरिने डिभिजन बन कार्यालय कास्कीको योजना छ । सर्वसाधारणलाई खुला गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको लागि पार्क नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास छ । 

प्रकाशित: १६ वैशाख २०७८ ०९:५० बिहीबार

जुलोजिकल पार्क