समाज

चट्याङ पर्दा दुई घर जले

चट्याङबाट लागेको आगोबाट घरविहिन बनेका ज्ञानबहादुर खड्कालाई राहत प्रदान गर्दै रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला। तस्बिरः नागरिक

असिना पानीसँगै परेको चट्याङले खोटाङमा दुई घर जलेको छ। बुधबार साँझ असिना पानीसँगै चट्याङ पर्दा रावाबेँसी गाउँपालिका–६ हौंचुर भैंसेका ज्ञानबहादुर खड्का र साकेला गाउँपालिका–३ खिदिमा सौर्यका सार्कीमान तामाङको घर जलेको हो। घर जल्दा दुई परिवार विस्थापित भएका छन्। 

चट्याङका कारण भएको आगलागीमा खड्काको दुई तले घर तथा अन्नपात, लत्ताकपडा, ५ तोला सुन ५, ३० तोला चाँदी, नगद ५० हजार लगायत जल्दा करिब १५ लाख २६ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । यस्तै, तामाङको फुसको छाना भएको एक तले घर, लत्ताकपडा, अन्नपात, जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यसैबीच, चट्याङबाट लागेको आगोबाट घरविहिन बनेका ज्ञानबहादुरलाई रावाबेँसी गाउँपालिकाले राहत प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बिहिबार राहत स्वरुप घर मर्मतपछि लाग्ने जस्तापाता, त्रिपाल, ९० केजी चामल, एक काटन तेल, ५ केजी नुन, ५ केजी दाल लगायत प्रदान गरेका छन्। 

प्रकाशित: १६ वैशाख २०७८ ०८:१० बिहीबार

चट्याङ पर्दा घर जले