समाज

गाउँमै बस्ने वातावरण बनाउन जोड

काठमाडौँमा निषेधाज्ञा हुने निश्चित भएसँगै गाउँ फर्किनेहरुको लर्को लागेको छ। सहरमा अध्ययन, रोजगारीका लागि पुगेकाहरु पनि गाउँ फर्किने क्रम जारी छ। यसरी फर्केकाहरुले गाउँलाई माया गर्नुपर्ने पाँचथरका स्थानीय एवं अगुवाहरुले बताएका छन्।

‘हरेक असहज परिस्थितिमा गाउँ आउनु पर्ने बाध्यता छ। यस हिसाबले गाउँको विकासलाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ’ नागरिक अगुवा प्रेम ओझा भन्छन्, ‘सरकारी ध्यान यतातर्फ पनि पुग्न जरुरी छ।’  

कोरोना कहर छल्न तथा सहरको अभाव खेप्न नसकेर गाउँ आउनेहरुले ग्रामिण विकासमा ध्यान दिनु पर्ने र आफ्नै ठाउँको विकासका लागि ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘शिक्षा, स्वास्थ्य, रोजगारीका कारण बढी मान्छे सहर तथा तराई बसाई सर्ने गरेको देखिन्छ। अब गाउँमै पूर्वाधारको विकास, सुविधा तथा रोजगारीको सृजना गर्नतर्फ ध्यान दिनु पर्ने सन्देश कोरोनाको प्रकोपले दिएको छ,’ नागरिक अगुवा ओझाले भने।

उनले कृषिलाई सम्मानजनक पेशा बनाएर गाउँमै रोजगारी सृजना गर्न सके गाउँको विकास हुनुका साथै आपतमा दुःख खेपेर फेरि गाउँ आउने बाध्यता टर्ने पनि बताए।

यसैगरी १ नम्बर प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्समले पनि कृषिलाई नै प्राथमिकता दिनुपर्नेै र कृषिलाई आधुनिकरण गर्न ध्यान दिनुपर्नेमा जोड दिए। ‘गाउँलाई पर्यटनसँग जोडेर आम्दानीको बाटोमा लैजानु पर्छ। गाउँको विकास नभई समग्र प्रदेशको विकास हुन सकदैन,’ लक्सम थप्छन्, ‘परम्परागत किसिमको खेती प्रणालीलाई सुधार्नु पर्छ।’

कोरोनाले गाउँलाई पनि महत्वपूर्ण सन्देश दिएको बताउँदै उनले गाउँमा अस्पताल लगायतका सुविधा नहुँदा समस्या हुने गरेको उल्लेख गरे। ‘सामान्य उपचारका लागि पनि सहर पुग्नु पर्ने बाध्यता छ। कतिपय अवस्थामा उपचार नपाएर ज्यानै जाने अवस्था छ। गाउँका सामुदायिक विद्यालय गरीबका विद्यालय भएका छन्, अब त्यसलाईं सबै मिलेर समाधान गर्नुपर्छ, त्यसपछि मात्र गाउँ बन्छ।’

उनले स्थानीय सरकारले पनि योजनावद्ध विकासका लागि पहल गर्नुपर्ने बताए। ‘मुख्य विषय शिक्षा, स्वास्थ्य हो। सरकारले विशेष प्राथमिकता दिनु पर्ने विषय हुन। गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिने हो भने सहर तथा तराई झर्ने क्रम घट्दै जाने देखिन्छ’ पाँचथर बहुमुखी क्याम्पसका साहयक प्रमुख लक्ष्मी ढुंगाना भन्छिन्, ‘स्थानीय सरकारको ध्यान शिक्षा र स्वास्थ्यमा जनुपर्छ। तीनवटै सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्छ। गाउँमै शिक्षित जनशक्ति उत्पादन भयो भने रोजगारी सृजना हुन्छ।’

उनले रोजगारीका लागि बाहिर गए पनि गाउँमा फर्किन सक्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै विकास निर्माणका काम योजनाका साथ र प्राकृतिक स्रोतको दोहन नगरी अघि बढाउनुपर्ने बताइन्।

पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले कोरोनाका कारण फर्किएकाहरुलाई गाउँमै बस्ने वातावरणका लागि स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने बताए।

प्रकाशित: १५ वैशाख २०७८ १४:०३ बुधबार

निषेधाज्ञा गाउँ फर्किनेहरुको लर्को