समाज

प्रदेश १ मा 'मास्क खै ?' अभियान

मोरङको रंगेलीमा कोरोना नियन्त्रण अभियान अन्तर्गत सफारी चालक र यात्रुहरूलाई मास्क वितरण गर्दै ट्राफिक प्रहरी । तस्बिरः चुमन बस्नेत/नागरिक

प्रदेश १ मा कोरोना संक्रमण रोक्न सवारी चालक तथा यात्रुलाई मास्क र सेनिटराइजरको प्रयोगबारे सचेतना अभियान सुरू भएको छ। ट्राफिक प्रहरीको अगुवाई तथा स्थानीय नागरिक समाजका प्रतिनिधिहरूको सहयोगमा राजमार्गमा सवारी चालक तथा यात्रुहरूलाई कोरोना नियन्त्रणका लागि मास्क र सेनिटराइजरको प्रयोग गर्न अभियान सञ्चालन गरेका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा प्रदेशभर एकैसाथ अभियान चलाइएको नेमुवा ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तुलामणि आचार्यले बताए। विराटनगर स्थित ढाटमा  नेमुवा ट्राफिक प्रहरी र स्थानीय राजधानी युवा क्लवले संयुक्त रुपमा अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत नेमुवा ट्राफिक प्रहरी कार्यालय तथा स्थानीय राजधानी युवा क्लवका पदाधिकारीले कोशी राजमार्गमा सवारी चालक तथा यात्रुहरूलाई मास्कको प्रयोग गर्न आग्रह गरेका थिए। ‘मास्क खै ?’ भन्ने नाराकासाथ अघि बढाइएको अभियानमा सवारी चालक र यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न र कोरोनाबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको आचार्यले जानकारी दिए।  

उनले भने,‘कोरोना नियन्त्रणको अभियान सुरूवातका क्रममा सवारी चालक तथा यात्रुहरूलाई मास्क र सेनिटराइरजरको प्रयोगबारे सचेत गरिएको छ।’ विराटनगर-३ स्थित राजधानी युवा क्लवका अध्यक्ष पीआर आचार्य कोरोनाको संक्रमण फैलिंदै गएकाले संक्रमण फैलनेक्रमलाई रोक्न ट्राफिक प्रहरीले थालेको अभियानलाई सहयोग गरेको जानकारी दिए। अभियानकाक्रममा सवारीसाधनका चालक तथा यात्रुहरूलाई मास्कको प्रयोगबारे सचेत गराउनुकासाथै मास्कको प्रयोग नगर्नेलाई मास्क प्रयोग गर्न आग्रह गरिएको थियो।  

यस्तै मास्क नलगाएका सवारी चालक तथा यात्रुहरूलाई मास्कसमेत वितरण गरिएको थियो। ट्राफिक प्रहरी तथा युवा क्लवका प्रतिनिधिहरू 'मास्क खै', 'अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कौं' जस्ता सचेतनामुलक नारा लेखिएको प्लेकार्डहरू बोकेर अभियानमा सहभागी भएका थिए।

प्रकाशित: १४ वैशाख २०७८ ११:२४ मंगलबार

प्रदेश १ कोरोना संक्रमण