समाज

कोरोना संक्रमण बढ्यो, तयार छैन क्वारेन्टिन र आइसोलेसन

कोरोना भाइरस संक्रमणको दोस्रो लहर दैनिक बढिरहेको छ ।  समुदायस्तरमै संक्रमित भेटिन थालेपनि क्वारेन्टिन र आइसोलेसनका विषयमा स्थानीय सरकार अन्यौलमा छन् । पछिल्लो चार दिनमा नेत्रावती डबजोङ गाउँपालिकाको वडा नं. ३ र ४ मा मात्रै ५७ जनामा कोरोना संक्रमण भेटिएको छ । गम्भीर विरामी एक जनालाई उपचारको लागि काठमाडौ पठाइएपनि १८ महिने बालकसहित ५६ जना गाउँकै होम आइसोलेसनमा छन् । पालिकाले आइसोलेसन व्यवस्थापन गर्न नसकेकै कारण संक्रमितहरु होम आइशोलनमा बस्न बाध्य भएका हुन् ।  

गाउँपालिकाले भने आफूहरुले वडा नम्बर ५ मा क्वारेन्टिनको व्यवस्था गरेर संक्रमितलाई राख्न खोज्दा संक्रमित नमानेर होम आइसोलेसन बसेको बताएका छन् । ‘५ नम्बर वडा अध्यक्षकै घरमा ५ बेडको क्वारेन्टिन बनाएका छौं, तर, संक्रमित बस्नै मानेनन् ।’ गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलले भने, ‘संक्रमित बसिहाले पनि वडा अध्यक्षको घरमा स्थापना गरेको क्वारेन्टिनमा ५६ जना संक्रमित राख्न सकिने अवस्था छैन ।’ चिकित्सकको अभावका कारण संक्रमण बढेपनि क्वारेन्टिन आइसोलेसन बनाउन नसकेको सुचना अधिकारी पौडेलले बताए ।  

स्थानीय सरकारले चाहेर पनि क्वारेन्टिन र आइशोलेसन तयार गर्न नसकेको धुनीबेशी नगरपालिकाका मेयर बालकृृष्ण आचार्यले बताए । ‘विगतमा संचालनमा ल्याइएको अस्थायी क्वारेन्टिन आइशोलेसन बन्द भएपछि हाल नयाँ संरचना निर्माण गर्न सकिएको छैन’ मेयर आचार्यले भने, ‘चिकित्सक नै नभएको ठाउँमा आइसोलेसन कसरी चलाउने ?’ भौतिक संरचना निर्माण गर्न सहज भएपनि जनशक्ति अभावका कारण संचालन प्रकृया जटिल बनेको मेयर आचार्यले बताए ।  

आइसोलेसन स्थापनाको लागि स्थानीय सरकारले पाएको १० लाख पहिलो चरणमै सकियो । केहि स्थानीय सरकारले क्वारेन्टिनको लागि बेड, औषधि उपचारमा खर्च गरे । केहिले क्वारेन्टिनमा खटाएका स्वास्थ्यकर्मीको तलब भत्तामा खर्चिए । अहिले भौतिक पूर्वाधारको अभाव र चिकित्सक व्यवस्थापन गर्न नसकेकै कारण स्थानीय स्तरमा आइशोलेसन स्थापना गर्न नसकिने जनप्रतिनिधिहरु बताउँछन् ।

‘आइसोलेसन व्यवस्थापनका लागि आएको १० लाख मध्ये ५ लाख स्वास्थ्यकर्मीलाई नै तलब भत्तामा खर्च गरेर सकियो, ५ लाखको बेड खरिद र औषधोपचारमा सकिएपछि अब झनै अन्यौल बढेको रोराङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भट्टराइले बताए । ग्रामीण अस्पताल संचालनको लागि भनेर भवन निर्माण थालिएपनि सम्पन्न नभैसकेकोले पहिलो चरणमा जस्तै विद्यालयका कक्षा कोठामा संक्रमित राख्नुपर्ने अवस्था सिर्जना हुनसक्ने उनले बताए । त्यसका लागि गाउँपालिकाले आवश्यक तरी गरिरहेको भट्टराइले बताए ।

धादिङ दुई ठूला राजमार्ग र भौगोलिक हिसाबले संक्रमणको उच्च जोखिम रहेको चिकित्सकहरु बताउँछन् । संक्रमण दिनप्रति दिन बढी रहेको छ । तर पालिकाहरुको पूर्व तयारी शून्य बराबर छ । कोरोनाको संक्रमण बढेपनि तत्काल क्वारेन्टिन बनाउन नसक्ने खनियाँबास गाउँपालिकामा स्वास्थ्य संयोजक आइत तामाङले बताए । ‘गत वर्ष कोरोना कहरकै समयमा ३ जना स्वास्थ्यकर्मी राखेका थियौं, अहिले उनीहरु ग्रामिण अस्पतालमा काम गरिरहेका छन्’ उनले भने, ‘क्वारेन्टिन बनाउन सरकारको निर्देशिका र निर्देशनको पर्खाईमा छौं ।’ क्वारेन्टिन सञ्चालन गर्न प¥यो भने उनीहरु कता काम गर्ने झन अन्यौलता बढ्ने तामाङले बताए ।’  

पछिल्लो समय संक्रमितको सख्या बढ्दै जाँदा जिल्लामा स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसनहरु लथालिङ्ग अवस्थामा छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको पनि क्वारेन्टिन र आइसोलेसनको विषयमा यकिन योजना छैन । तत्काल संक्रमण भए, विकल्पमा स्वास्थ्य संस्थाहरुलाई आइशोलेसन बनाउने सोच बनाएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले बताए । गजुरी गाउँपालिकामा यस अघि संचालित आइसोलेसन हाल संचालनमा नरहेपनि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा १० शैयाको कोभिड अस्पताल संचालनमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले जानकारी दिए । गल्छी गाउँपालिका र गंगाजमुना गाउँपालिकामा कोभिड अस्पताल छ । अन्य स्थानीय तहहरुमा भने सन्तोषजनक छैन ।  

पहिलो चरणको महामारीमा सामुदायिक भवन, विद्यालय लगायतमा क्वारेन्टिन र आइसोलेशन स्थापना गरिएको भएपनि अहिले ती विद्यालयहरुमा पढाइ सुचारु भइरहेको छ । सामुदायिक भवनहरुमा भएका क्वारेन्टिनहरु पनि तत्कालै संचालनमा ल्याउन सक्ने अवस्थामा नरहेको स्वास्थ्य कार्यालय धादिङका वरिष्ट जनस्वास्थ्य प्रशासक भुवन पौडेले बताए । विकटमा पर्ने रुवीभ्यालीमा ग्रामीण अस्पताल भनेर सुरु गरिएको ५ ओटा क्वारेन्टिन पनि अहिले तयारी अवस्थामा नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

धादिङ अस्पतालमा रहेको ६ ओटा वेडमा अक्सिजन सहित आइसोलेसन व्यवस्थापन गरिएको छ । त्यस बाहेक स्थानीय तहहरुले यसघि स्थापना गरेको क्वारेन्टिन आइसोलेशनहरु कुनैपनि तयारी अवस्थामा छैनन् । नीजि अस्पतालहरु आइसोलेसन तयार गर्ने मामिलामा निरिह देखिएका छन् । पहिलो चरणको महामारी फैलिएसंगै २०७५ चैत ११ गतेबाट सरकारले देशव्यापी लकडाउन गरायो । त्यसबेला स्थानीय सरकारले विदेश तथा स्वदेशबाट गाउँ फर्केकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्ने, पिसिआर परिक्षण गर्ने र आवश्यकता अनुसार क्वारेन्टिन आइशोलेसन निर्माण गरी संचालन गर्ने काम भएपनि अहिले त्यसतर्फ स्थानीय तहको ध्यान केन्द्रित भएको देखिदैन ।  

अस्पतालमा रहेको आधा बेड कोभिडको लागि तयार गर्ने सरकारको नीति अनुसार धादिङ अस्पतालमा तयारी थालिएको छ । सदरमुकाम धादिङबेसीस्थित डिभिजन वन कार्यालयमा ५० वेडको आइसोलेसन निर्माण कार्य भइरहेको र केही दिनमा संचालनमा आउने धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । अन्य स्थानीय तहहरुमा आवश्यकता अनुसार आइसोलेसन स्थापना गर्न निर्देशन भएपनि हालसम्म कुन कुन स्थानीय तहले आइसोलेसन निर्माण गरेका छन् सो को जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

प्रकाशित: १४ वैशाख २०७८ ०९:०७ मंगलबार