समाज

आगलागीले घरगोठ जलेपछि बिचल्ली

रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका नारायण दासको घरगोठमा आगो लागेर लाखौँको धनमाल खरानी भएपछि उनको बिचल्ली भएको छ । मध्यरातमा भएको आगलागीले दासको घरमा रहेको अन्न र लत्ताकपडा खरानी भएपछि सबै किसिमको समस्या आएको हो । आगलागीमा परी एउटा भैंसी, एउटा पाडी र पाँचवटा बाख्रा तथा खसी पनि डढेर मरेकाले आफ्नो सबै थोक बिनास भएको दासको भनाइ छ ।

घरगोठ, अन्न, पशुधन तथा कपडालत्ता सबै हेर्दाहेर्दै स्वाहा भए, मध्यरातमा गाउँलेका अगाडि सबै थोक खरानी भएको आँखाले देखिरहे पनि बचाउन नसकेकोमा जीवनको सबैभन्दा पीडा भोग्नु परेको दास बताउँछन् ।  

'झन्डै जीवनभरको कमाई हेर्दाहेर्दै खरानी भयो,' दास भन्छन्, 'आगो निभाउने प्रयास गर्दागर्दै मेराे दुवै हातमा पनि पोलेर घाइते भएको छु।' आगलागीबाट घाइते भएका पीडित दासको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

गाउँलेहरुको सहयोगले अन्य मानवीय क्षति हुन नपाएको स्थानीय नवीन सिंहको भनाइ छ । राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र सिंहले घटनास्थलको निरीक्षण गरेका छन् । पीडित दासप्रति सहानुभूति दर्शाउँदै मेयर सिंहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित: १३ वैशाख २०७८ ०७:१८ सोमबार

आगलागी बिचल्ली