समाज

पत्रकार महासंघ रौतहटलाई बाटो खुल्यो

नेपाल पत्रकार महासंघ रौतहट शाखाको नवनिर्वाचित कार्यसमितिले कामकाज गर्न पाउने भएको छ। गत चैत ३० मा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उत्प्रेषण परमादेश जारी गरी सपथ ग्रहण तथा कामकाज गर्न रोक लगाएकोमा चैत ५ देखि कामकाज गर्न पाउने आदेश जारी गरेको छ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य दिनेश यादवले शाखालाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दा दर्ता गरी नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा कामकाजमा रोक लगाएका थिए । उच्च अदालतले छलफलका लागि दुवै पक्षलाई कागजपत्रसहित आइतबार बोलाएको थियो।

आइतबार अदालतमा निवेदकका तर्फबाट अधिवक्ताहरू शिवबहादुर कोइराला, विनय सिंह र वीरेन्द्रप्रसाद यादव तथा विपक्षीका तर्फबाट अधिवक्ताहरू सुधीरकुमार कर्ण र शैलेन्द्र चौरसियाले बहस गरेका थिए। विपक्षीका तर्फबाट शाखाका नवनिर्वाचित अध्यक्ष प्रेमचन्द्र झासमेतले अदालतलाई कागजपत्र बुझाएका थिए। 

‘अदालतमा बुझाइएको कागजपत्र हेर्दा चैत २६ मा नै पदभार तथा सपथ लिएर बैठक बसी कार्य आरम्भ गरिसकेको अवस्थामा अन्तरिम आदेश नहुँदा निवेदकलाई अपूरणीय क्षतिसमेत हुने नदेखिँदा निवेदकको मागबमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपर्ने आवश्यकता नदेखिएको हुनाले चैत ३० मा जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपरेन’, न्यायाधीशद्वय गणेशप्रसाद बराल र जनक पाण्डेको संयुक्त इजलासको फैसलामा भनिएको छ। गत चैत २५ मा भएको नेपाल पत्रकार महासंघ रौतहट शाखाको निर्वाचनमा गडबडी भएको दाबी गर्दै यादवले रिट दर्ता गराएका थिए। अदालतको आदेश आएपछि अब शाखाले नियमित कार्य अगाडि बढाउने शाखा अध्यक्ष प्रेमचन्द्र झाले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: ६ वैशाख २०७८ ०१:२४ सोमबार

पत्रकार महासंघ रौतहटलाई बाटो खुल्यो