समाज

डोल्पामा स्थानीय जनगणना कार्यालय स्थापना

'मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ का लागि' भन्ने नारासहित हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना भएका छन्। 

कर्णाली प्रदेश निर्वाचन क्षेत्र (क) अन्तर्गत पर्ने डोल्पोबुद्ध, छार्काताङसोङ, काइके गाउँपालिका र ठुलिभरी नगरपालिका गरेर ४ स्थानीय तहको जनगणना गरिने गरि नगरपालिका केन्द्र जुफालमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ। यसैगरि कर्णली प्रदेश निर्वाचन क्षेत्र नं (ख) मा पर्ने जगदुल्ला, शे फोक्सुण्डो, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिका गरेर ४ स्थानीय तहको गणना गरिने गरि नगरपालिकाको केन्द्र त्रिपुराकोटमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ।  

नेपाल सरकारले २०६८ मा गरिएको जनणना कार्य  दश वर्षपछि २०७८ मा गरिन लागेको हो। प्रत्येक दश वर्षको फरकमा नेपालमा जनगणना गरिने गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा नेपाल सरकार राष्ट्रिय जनगणना २०७८ स्थानीय जनगणना कार्यालयको एक कार्यक्रमका साथ नगरका प्रमुख प्रशासकीय अधिकृत प्रितीभक्त गिरी र वडा नं १ का वडाध्यक्ष कर्मसिं थापाले ब्यानर खोलेर उद्घाटन गरे। कोही नदोरिउन्, कोही नछुटुन् भन्ने मुलमन्त्रका साथ यथार्थरुपमा सत्यतथ्यमा आधारित भएर बस्तुपरक गणनाको लागि स्थानीय स्तरमै कार्यालय स्थापना रिएको बताए।  

भूगोल क्षेत्र बस्ती र बस्तीमा बस्ने मानिसहरुको यथार्थ तथ्याङक संकलन गरिने भएकाले प्रत्येक दश वर्षमा गरिने जनगणना हाम्रो र विश्वकै लागि ऐना भएको पनि प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए। वडा नं १ का वडाध्यक्ष थापाले वडाबस्तीमा तथ्याङ्क संकलन गर्न जाने गणकहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधि बुद्धिजीबि समाजसेवी विभिन्न समूहमा आवद्ध महिला दिदीबहिनीहरुले सहि र सत्य सूचना दिएर सहयोग गर्नुपर्नेमा जोड दिए। 

गणना गर्न जाने गणक कुनै पनि राजनीतिक दल गैह्र सरकारी संस्थामा आबद्धता भएपनि स्वच्छ र निष्पक्ष तटस्थतामा रहेर सहि गणना ल्याउने आफू विश्वस्त रहेको पनि वडाध्यक्ष थापाको भनाइ थियो। जनगणना २०६८ अनुसार हिमाली जिल्ला डोल्पाको जनसंख्या ३७ हजार ७ सय छ।  

स्थानीय जनगणना कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य गौरीशंकर उपाध्याय नेकपा एमालेका धर्मसिं रोकाया नेकपा माओवादीकी कालि चलाउने नगरशिक्षा प्रमुख भिम थापालगायतको उपस्थिती थियो।

प्रकाशित: ३ वैशाख २०७८ ११:३४ शुक्रबार

डोल्पा स्थानीय जनगणना कार्यालय