समाज

मधेसमा जुडशीतल पर्व मनाइँदै

लहान ४ का जेष्ठ नागरिक नातिनीलाई जलसिंचन गरी आशिर्वाद दिँदै । तस्बिरः मिथिलेश/नागरिक

मधेसका जिल्लाहरुमा बिहीबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशिर्वाद दिने चलन छ ।

सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको छ । जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता पाइरहुन् । यो पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन् र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आशिर्वाद दिन्छन् ।

जुडशीतल प्रकृति पूजाको पर्व हो मैथिली भाषका प्राध्यापक उमेशकुमार झा भन्छन्,‘जुडशीतलमा मानव मात्र नभई रुख विरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ । यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ । विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । सो दिन(बैशाख २ गते) राती चुल्होमा आगो बालेर खाना पकाउन नहुने मान्यता चलिआएको छ ।

अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाएको झा बताउँछन् । यस पर्वलाई सतुआइन तथा बैशाखी पनि भन्ने गरिन्छ । यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पङखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ । साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी (आचार) चढाउने चलन छ ।

आजै दिनदेखि तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ । सुकिसकेको ईनार र पोखरीमा नयाँ जलले सिंचित गर्ने गर्छ । यो पर्वको साईत पारेर ईनारको पानीमा चुना राखि तिनलाई स्वच्छ बनाउने ग्रामिण चलन छ ।

आरामको क्षणमा आत्मीयता बडाउनका लागि मनाइने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव र प्रकृतीको पर्वको उपमा दिने गरिएको छ ।

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ ।

विक्रम संवतको आधारमा आरम्भ हुने नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । जुडशीतल दुई दिवसीय पर्व हो । पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात वैशाख २ गतेलाई जुडशीतल भन्ने गरिन्छ । गहुँ, जौ र बदामको सतुवाजस्ता भर्खरै फलेको सुपाच्य अन्न खाएर सुरु भएको नयाँ वर्षको उत्सव दोस्रो दिन अर्थात वैशाख २ गते अति नै भव्य र धुमधामका साथ मनाइन्छ ।

यो दिन पारेर सिरहाको महेशपुर पतारी गाउँपालिकामा रहेको एतिहासिक धार्मिक पताल पोखरीमा सन्तानको भाकल गर्दै नुहाउन आउनेको भिड लाग्छ । त्यसैगरी, ब्रम्हान, पडकडियागढ, मानिक दहमा मेला लाग्छ । बैशाख १ गते फुलवारी मेला भर्न आएका भारत र अन्य जिल्लाका श्रद्धालु उल्लेखित मेला भरेर घर फर्कन्छ ।

प्रकाशित: २ वैशाख २०७८ ०३:२० बिहीबार

जुडशीतल पर्व