समाज

नयाँ वर्षमा प्रकृतिको शुभकामना 'फूल'

सिरहाको सलहेस फूलवारीमा नयाँ वर्षमा फुल्ने मालाआकृत फूल । तस्बिरः मिथिलेश यादव

नयाँ वर्षमा एक व्यक्तिले अर्कोलाई शुभकामना दिनु नौलो होइन । तर, मिथिलामा विक्रम संवत्को नववर्षमा प्रकृति स्वयंले शुभकामना दिने गर्छ । प्रत्येक वर्ष बैसाख १ गते लहान नगरपालिका स्थित सलहेस फूलवारीमा फुल्ने माला आकृत फूललाई प्रकृतिद्वारा प्रदान गरिएको नववर्षको शुभकामना मान्छन्, मिथिलावासी ।

सलहेस फूलवारीमा फुल्ने उक्त फूल मिथिलाका लोकनायक सलहेस गाथासँग सम्बन्धित छ । स्थानीय लोकआस्थासँग जोडिएको यस स्थानमा दशकौंदेखि फुल्दै आएको अलौकिक फूल हेर्न भव्य मेला लाग्ने गर्छ । यसपाली पनि कोरोनाको बेवास्ता गर्दै मेला लाग्यो ।

लहान बजारदेखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीमा रहेको हारमको रुखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ । यस फूवारीको असंख्य रुख मध्ये मालिनी मन्दिर दक्षिण टासिएको हारमको दुईवटा रुखमा प्रत्यो नयाँ वर्षकम माला आकृत फूल फुल्छ । यसै फूलको अवलोकन गर्न लमिथिलावासीको मन फूलवारीमा तानिन्छ । सलहेसको गाथासंग जोडिएको माला आकृति फूल ‘सुनाखरी’ को विशेष प्रजाति भएको वन तथा वातावरण विज्ञ बताउँछन् । मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार, नयाँ वर्षको दिन फुल्ने यो फूल राजा सलहेश र कुसमा मालिनीको ‘प्रेम प्रतिक’ हो । दशौं पुस्ताका पुजारी धामी भन्छन्, सुरुवात देखि जुन रुखमा यो फूल फुल्यो अहिलेसम्म उही रुखमा उस्तै स्वरुपमा फुल्दै आएकोे छ ।’ अरु फूल मुर्झाएर तिनका पात भुईमा झर्छन तर, यो फूलको एउटै पत्र भुइंमा नझर्ने पुजारी धामी बताउँछन् ।  

फूलवारीको आकर्षण नयाँ वर्षमा मात्र फुल्ने ‘फूल’ हेर्न मिथिलाअञ्चल, पुर्वी तराई र विहार र देशभित्रका अन्य जिल्लाबाट श्रद्धालु आउँने गर्छन् । भारत विहारबाट आउँने श्रद्धालुहरुमा ‘दुसाद’ जातिको संख्या उल्लेख्य रहेको पुजारी बताउँछन् । राजा सलहेश ‘दुसाद’ जातिका कुल देवता भएकोले पूजा गर्न र मेला भर्न आउने भारतीय श्रद्धालुमा यो जातिको सँख्या उल्लेख्य हुन्छ । भारत दरभँगाबाट मेला भर्न आएका झरी पासवानले फूलवारीको पहिलो अनुभूति यसरी सुनाए,‘वर्षौदेखि सुन्दै आएको गाथा भन्दा यहाँको वास्तविकता हेर्न पाउँदा अलौकिक अनुभूति भयो । यस्तो आलौकिक फूल ६५ वर्षको उमेरमा पहिलो पटक देख्न पाएँ पासवानले भने,‘रुखकोबीचमा माला आकृत फूल !, आश्चर्य हो’ । 

फूलवारीमा फूल श्रृगार्ने ‘दौना मालिनी’ जो राजा सलहेससंग औधी प्रेम गर्थिन, नयाँ वर्षको दिन सहलेश राजासँग भेट्न फूलको रुपमा प्रकट हुने लोकविश्वास छ । नयाँ वर्षमा मात्र फुल्ने यो फूल दैविशत्किको प्रतिक हो, धार्मिक उपज हो वा कुनै वनस्पतिक विशेषता यस बारेमा ठोस अनुसन्धान भएको छैन् । जानकार यादव भन्छन्,’ सुनाखरीकोे ३५ प्रजाति मध्ये यो अनौठो हो ।’ नेपालमा सुनाखरीको ८ प्रजाति पाईन्छ । वैशाख १ गते पूर्ण रुपमा फूल फुलेर फक्रिनु र २ गते देखि विस्तारै मुर्झाउँदै जानु अद्भुत घटना भएको उनले भने ।  

सलहेस मिथिलाका यस्ता विभूति हुन, जसको नामबाट त्यहाँका जनजन सुरपरिचित छन् । वास्तविक नाम जयवर्द्धन रहेका सलहेसलाई सातौं र आठौं शताब्दीका महापुरुषका रुपमा चिन्ने गरिन्छ । मूलतः लोकगाथाका नायकका रुपमा रहेकाले उनीबारे धेरै अध्ययन हुनसकेका छैनन् ।  

सलहेस नाम ‘शैलेस’बाट अपभ्रंश भएको मानिन्छ । शैलेस अर्थात् पर्वतका राजा । यिनको जातिचाहिं दुसाध हो । यो दुसाध शब्द ‘दोसाँध’बाट अपभ्रंश भएको मानिन्छ । अर्थात् यिनी पहाड र मधेसको दोसाँधमा रहेको राज्य तिरहुत(मिथिला) का नायक भएको सलहेस सम्बन्धि अध्येता राजकुमार महतो बताउँछन् । सलहेससँग सम्बद्ध स्थानहरू सिरहा जिल्लाको मानिक दह, सलहेस फूलबारी, पकडियाडढ, कमलदह, ननमहरी, उदयपुरको त्रिवेणी आदि ठाउँ पहाड र मधेसको दोसाँधमै अवस्थित भएबाट पनि यस तथ्यको पुष्टि हुन्छ ।  

सलहेस मिथिलाका आम मानिसको मनमनमा छन् । दुसाद जातिका भएर पनि यिनी मिथिलामा लोकदेवताका रुपमा स्थापित छन् । हरेक वर्ग तथा जातिका मानिसले उत्तिकै श्रद्धा, भक्तिपूर्वक यिनको पूजा गर्छन् ।

सलहेस श्रद्धाकै एउटा विशिष्ट समारोहका रुपमा दशकौंदेखि सिरहाको सलहेस फूलबारीमा भव्य मेला लाग्ने गर्छ । सलहेस फूलबारीको मध्य भागतिर मालिनि मन्दिरको टासिएकै दक्षिण हारमको माला आकारको फूलको आकर्षणले सबैलाई लठ्याउँदैन मात्र, त्यसका सम्बन्धमा जान्ने कौतुहलता समेत जगाउँछ । त्यो फूल दैवीशक्तिकै चमत्कार हो वा धार्मिक पाखण्ड हो वा कुनै किसिमको वानस्पतिक विशेषता नै हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिनु वाञ्छनीय देखिन्छ । यद्यपि सलहेस गाथासँग जोडिएकाहरुले भने सलहेसकी प्रेमिका कुसमा मालिनी सलहेससँग भेट्न फूलको रुपमा उक्त दिन प्रकट हुने गरेको विश्वास गर्छन् । यस मान्यताको आधारमा त्यहाँ गई दर्शन तथा पूजन गरेमा प्रेमी-प्रेमिकाको मनोकामना पूर्ण हुने जनविश्वासका आधारमा पछिल्लो समयमा सो ठाउँ ‘लभर्स प्वाइन्ट’का रूपमा पनि विकसित हुँदैछ ।

प्रकाशित: १ वैशाख २०७८ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App