समाज

गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन

चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ। आइतबार साँझ दीपप्रज्वलन गरिएको हो। रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन्।

पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगानी सुरक्षित भएको बताए। उनले भने, 'गैँडा संरक्षणमा हामी सबैले गरेको प्रयास सफल भएको छ।' कार्यक्रममा वडा नं ६ का अध्यक्ष बलराम दाहालले सौराहाको पर्यटन वन्यजन्तुमा निर्भर रहेकाले पर्यटनको मुख्य आधार नै एकसिङ्गे गैँडा रहेको बताए।

गणनाको क्रममा निकुञ्जको पूर्वी सेक्टरमा गैँडाको सङ्ख्या वृद्धि भएको पाइएकाले अब आहार र बासस्थान संरक्षणमा काम गर्नुपर्ने उनीहरूको भनाइ थियो। सन् २०१५ मा गैँडाको सङ्ख्या ६ सय ४५ रहेकोमा बढेर ७ सय ५२ पुगेको छ। चितवनमा ६ सय ५ बाट ६ सय ९४, बर्दियामा २९ बाट ३८ र शुक्लाफाँटामा आठबाट १७ पुगेको छ। पर्सामा तीनवटा नै यथावत् रहेको छ। रासस

प्रकाशित: ३० चैत्र २०७७ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App