समाज

भक्तपुरको बिस्का जात्रा सुरु

सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु भएको छ। यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ। जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरुआत गरिदैँ छ। 

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ। यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ। भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो।  

तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र साढे ५ बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ। बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्ने, बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्थ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ बजेदेखि साढे ९ बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान साढे ९ बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके भएर पूजा सम्पन्न गर्ने बैठकपछि जारी जात्रासम्बन्धी कार्यतालिकामा उल्लेख गरिएको छ। 

प्रकाशित: २८ चैत्र २०७७ ०४:१८ शनिबार

बिस्का जात्रा सुरु