समाज

वार्षिक सम्झनामा सीमित सलहेस सर्किट

फूलबारीमा हरेक नयाँ वर्षकाे दिन हारमकाे रूखमा फुल्ने मालाआकृत सुनाखरी फूल। तस्बिर: मिथिलेश/नागरिक

प्रतापी राजा सलहेस गाथासँग जोडिएका धार्मिक स्थलहरू वार्षिक सम्झनामा सीमित बनेको छ। वर्षमा एक पटक वैशाख १ गते लाग्ने मेलामा ओर्लिने जनउभारसँग गुलजार बन्ने सलहेस सर्किट मेला सम्पन्न भएसँगै उजाड बन्छ। सलहेसलाई राष्ट्रिय विभूति घोषणा गराउन अभियान चलाएका अभियन्ता राजकुमार महतोले प्रदेश २ को समृद्धिको आधार कृषि र पर्यटन भएको बताए। जानकी मन्दिर, गढीमाई, छिन्नमस्ता भगवती (सखडा) सँगै सलहेसलाई जोडेर यस प्रदेशमा पर्यटन सर्किट बनाउन सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने महतोको भनाइ छ। 

सलहेस फूलबारी जस्तो माटो, पानी, रुखबिरुवा र वातावरण अरू कुनै ठाउँ नभएकाले पनि यस क्षेत्रको विकास, प्रवद्र्धन र संरक्षण आवश्यक छ। रसलहेस दुसाद जाति (दलित) देवता भए पनि हरेक जातजाति र सम्प्रदायमा भगवान्को पदवी पाएका छन्। राजा सलहेसले एकता र सम्पदा सदभावको सन्देश दिन्छ। ५ हजार वर्षको उज्ज्वल इतिहास बोकेको राजा सलहेसका वैभव र वीरताका गाथा ओझेलमा पर्नु विडम्बना हो।

सलहेसको गहबर

सलहेस फूलबारीमा वैशाख १ गते वर्सेनि मेला लाग्ने विषय मिथिलावासीका लागि नौलो होइन। लोकगाथामा भनिएअनुसार फूलबारीमा सलहेस फूल टिप्न आउँथे। यही पकरिया गढकी राजकुमारी चन्द्रा पनि फूल टिप्न फूलबारी आइरहन्थिन्। फूलबारीमा सलहेसलाई देखेपछि उनले सलहेससमक्ष पे्रम प्रस्ताव राखिन्। तर सलहेसले अस्वीकार गरिदिए। त्यपछि राजकुमारीले आफ्ना पिता राजा कुलेश्वरलाई फूलबारीमा चोर आएको र उसले आफूमाथि हातपात गर्न खोजेको चुक्ली लगाइन्। राजाको आज्ञाले सलहेस समातिए र जेलमा बन्द गरिए। त्यसै क्रममा उनीमाथि राजकुमारीको चन्द्रहार चोरेको अभियोग लाग्यो, जसको सजाय मृत्युदण्ड थियो। यस अवस्थामा सलहेसकी पे्रयसी दौनामालिनीले आफ्नो रूपको जादु र विवेकले उनको मृत्युदण्ड सजाय माफ गराइन्। त्यपछि दुवैबीच (सलहेस र दौना मालिनी) को प्रेम गाढा भएर गएको किंवदन्ती छ।

दौना मालिनी र सलहेसबीचको प्रेम सम्झनाको रूपमा यस फूलबारीमा रहेको हारमको रूखमा प्रत्येक वर्ष माला आकृत फूल फुल्ने गरेको लोक भनाइ छ। फूलबारीमा विभिन्न प्रजातिका रूखहरू छन्। तर मालाआकृत फूल मालिनी मन्दिरको दक्षिण टाँसिएको हारमको रूखमा मात्र फुल्छ। अचम्मको उक्त फूल हेर्न भारत र नेपालका विभिन्न जिल्लाबाट श्रद्धालुहरूको भीड वैशाख १ गते सो फूलबारीमा ओर्लिन्छ। लहानबाट चार किलोमिटर पश्चिम दक्षिणमा रहेको यो स्थल धार्मिक, पुरातात्विक र सम्पदाको दृष्टिले महत्वपूर्ण छ।

मालिनी मन्दिरभन्दा दक्षिणमा राजा सलहेसको मन्दिर छ। २०२६/२७ सालतिर राजमार्ग निर्माणको क्रममा ठेकेदारले फूलबारीभित्र सलहेसको गहबर बनाइदिएका हुन्। गहबर (मन्दिर) मा हात्तीमा सवार सलहेसको भव्य मूर्ति छ। सलहेस मूर्तिको दाहिनेतिर घोडामा चढेका सलहेसका भाइ मोतीरामको मूर्ति छ। देबे्रतिर उनका भान्जा घोडामा सवार कारिकान्तको मूर्ति। सलहेस मूर्तिछेउमा उनकी पे्रमिकाहरू दौना र कुसमा मालिनीका सुन्दर मूर्ति छन्। पूजारी परिवारकै व्यक्तिहरूद्वारा त्यस्ता आकर्षक मूर्ति बनाइन्छ। मेलाको अवसरमा रङरोगन गरिएको मन्दिरमा द्धधालु भाकलअनुसार प्रसाद चढाउँछन्। पहिला जुत्ताचप्पल फूलबारीबाहिरै फुकालिन्थ्यो। अहिले श्रद्धालुको चापले अनुशासन बिथोलिन थालेको पाइन्छ।

सलेहस फूलबारीदेखि अलि पश्चिम–उत्तर कुनामा चट्टान छ, जसलाई सिलहट अखाडा भनिन्छ। सलहेस आफ्ना भाइ मोतीरामसहित सात सय पहलमानको साथ यहाँ कुस्ती खेल्न आउने गरेको किंवदन्ती छ। अहिले अखाडा भएको स्थानमा दुईवटा मन्दिर निर्माण गरिएका छन्।

मालिनी मन्दिर  

सलहेस फूलबारीमा गहबरसँग टाँसिएकै उत्तरतिर मालिनी मन्दिर छ। उक्तर मन्दिरमा दौना, कुसमा र रेसमा नाम गरेका मालिनीहरूका आकर्षक मूर्तिहरू छन्। माटाका यी मूर्तिहरू पूजारी परिवारकै व्यक्तिद्वारा बनाइएका हुन्। फूलबारीमै रातो माटो पाइन्छ। यस्तै चुना जस्तै सेतो माटो पनि छ। यी मूर्तिहरू बनाउँदा दुइटै माटाको उपयोग गरिएको छ। सलहेस गाथामा चारवटी मालिनीको विशेष चर्चा छ। ती मालिनी तरेगना प्रगन्नाका राजा महेश्वर भँडारीका छोरी थिए। तीनको नाम हिरा, रेसमा, दिना (दोना अपभ्रंश) र कुसमा। उनीहरूमध्ये कुसमा निकै सुन्दरी दिइन्। उनी सलहेसलाई प्रेम गर्थिन्। जब कि सलहेसलाई उनको पे्रम स्वीकार्य थिएन।

सलहेस पूmलबारीमा पहिला सलहेसको पूजा गरिन्छ। त्यसपछि भक्तजन खासगरी महिला मालिनी मन्दिरमा पूmल, अक्षता र मिष्टान्न चढाई धुपबत्ती बाल्छन्। निःसन्तान महिला दर्शनार्थीहरू सन्तान पाउने उद्देश्यले मालिनी मन्दिर पुगी पूजा गर्ने भाकल गर्छन्।

पकडिया गढ

वैशाख २ गते मेला लाग्ने यो ऐतिहासिक स्थान लहानदेखि १० किलोमिटर उत्तर चुरेको काखमा अवस्थित छ। यो स्थल राजा कुलेश्वरको दरबार थियो। यस स्थानको उत्खनन भए राजाको गढी भेटिन सक्ने जानकारहरू बताउँछन्। गढको वरिपरि इँटाले बनेको पर्खालको भग्नावशेष दखिन्छ। केही वर्षअघि यस क्षेत्रमा १० इन्च लामो र दुई इन्च मोटाइ भएका केही इँटा भेटिएको गाउँले सुनाउँछन्। यही मन्दिरमा राजा सलहेसको पनि मन्दिर र घोडा चढेको मूर्ति छ। पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ।

प्रकाशित: २८ चैत्र २०७७ ०१:५९ शनिबार

सलहेस सर्किट