समाज

सुकुम्वासीलाई लालपुर्जा र घर

विराटनगर १२ स्थित मंलङगवा बस्तीमा महानगर आवास परियोजनाको शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालालगायत नेताहरू । तस्बिर : विनोद/नागरिक

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगरमा अभियान थालिएको छ। महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरमा महानगर आवास योजना सुरू गरिएको हो। महानगर आवास योजनाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायतले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका छन्। नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगर महानगपालिका भित्रका सुकुम्वासीलाई आफ्नै घडेरी र घर उपलब्ध गराउने अभियान सुरु भएको हो।

विराटनगर –१२ स्थित मलंगवा वस्ती व्यवस्थित गर्ने उद्देश्यले सो बस्तीका १ सय ४५ सुकुम्वासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरिसकिएको  र घर निर्माण गर्न लागिएको  प्रमुख सचेतक केदार कार्कीले बताए। सुकुम्वासीलाई घर बनाउन टिन, फलामको डण्डी, चामल आलु लगाएका खाद्यान्न बाँडे पनि उनिहरू सुकुम्वासीको सुकुम्वासी नै रहेकाले उनिहरूकै कमाइबाट घर घडेरीको व्यवस्थापन गर्ने आयोजना अघि सारिएको हो। 

‘विपन्न र सुकुम्वासीलाई किस्तावन्दीमा रकम तिर्नेगरी घडेरी प्रदान गरिसकिएको छ’ कार्कीले भने‘ अब, दाताहरू र तीनै तहका सरकारको सहयोगमा घर निर्माण गर्ने तयारी गरिएको छ।’ मलंगवा बस्तीका १ सय ४५ परिवारलाई जग्गाको लालपुर्जा दिएर सुकुम्वासीबाट मुक्त गरिएको कार्कीले बताए। उनले सडक किनार र ऐलेनी जग्गाको बस्तीलाई यहि मोडलमा व्यवस्थित गर्न सके भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासको अन्त्य हुने धारणा राखे। सुकुम्वासीलाई घडेरी उपलब्ध गराउन जीवन विकास समाजबाट ऋण लिएर विराटनगर–१२ मा ६ करोड ८८ लाख रुपैयाँमा जग्गा खरिद गरिएको छ। सोहि जग्गामा सुकुम्वासीलाई घर निर्माणको अभियान थालिएको हो।  

अभियानमा जीवन विकास समाज, सहारा नेपाल, ह्याविटाटफर ह्युमानिटी, विराटनगर महानगरपालिकालगायतका संस्था तथा विभिन्न दाताहरूको सहयोगमा घर निर्माण गर्ने तयारी गरिएको छ। विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले सुकुम्वासीलाई जग्गाको मालिक बनाउने अभियानको सुरुवात विराटनगर–१२ बाट गरिएको बताइन्। विराटनगर-१२ बाट थालिएको अभियान अन्य वडामा पनि विस्तार गर्ने महानगरपालिकाको योजना रहेको उनको भनाइ छ। 

सुकुम्वासीलाई आवास निर्माणमा प्राबिधिक सहयोग उपलब्ध गारउँदै आएको सहारा नेपालका अनुगमन अधिकृत ओमप्रकाश साहले महानगर आवास योजना अन्तर्गत घर निर्माण गर्नका लागि ३ विघा १६ कठ्ठा ५ धुर जग्गाको व्यवस्थापन गरिएको जानकारी दिए। उनले भने, ‘३ विघा १६ कठ्ठा ५ धुर जग्गा साढे ७ धुरका दरले १ सय ४५ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ।’ महानगर आवास योजना अन्तर्गत सुकुम्वासीलाई घर निर्माण गरेर दिने योजनासँगै विद्यालय, खानेपानी, सडक र पार्कसमेत बनाउने योजना रहेको छ। जसका लागि विराटनगर महानगरपालिकाले बजेटको व्यवस्थापन गर्ने जनाएको छ।  

सुकुम्वासीलाई वितरण गरिएको जग्गाको उनिहरूले नै मासिक किस्ता बन्दीरुपमा रकम जीवन विकास समाजलाई बुझाउनु पर्ने व्यवस्था गरिएको छ। जसका लागि मासिक ७ हजार किस्ता तोकिएको छ। किस्ता तिर्ने अवधि अढाइ वर्षदेखि ५ वर्षसम्मलाई तोकिएको जीवन विकास समाज मोरङका डेपुटी सिइओ दामोदर रेग्मीले बताए। नयाँ मोडलमा सुरू गरिएको महानगर आवास परियोजनाले सुकुम्वासीलाई आत्मनिर्भर बनाउने मात्रै नभइ जग्गाको मालिक पनि बनाउने भएकाले संधै सुकुम्वासी भएर सडकका किनारामा बस्नु पर्ने अवस्थाको अन्त्य हुने निश्चित छ।

प्रकाशित: २५ चैत्र २०७७ १४:०७ बुधबार

सुकुम्वासी लालपुर्जा र घर विराटनगर