समाज

नेपाली सेनाको प्रदेशस्तरीय सम्मेलन

नेपाली सेनाले मकवानपुरको हेटौंडास्थित मध्यपृतना हेडक्वाटरमा वागमती प्रदेशस्तरीय भुतपुर्व सैनिक सम्मेलन गरेको छ। सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाश प्राप्त सैनिकलाई जानकारी गराउने तथा भूपू सैनिक र उनीहरूका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्यले सम्मेलन गरेको हो।

सम्मेलनमा ८ जिल्लाका भूतपूर्व सैनिक तथा उनीहरूको परिवारको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक तथा जेष्ठ एकल महिलालाई प्रधान सेनापति पूर्णचन्द थापाले सम्मान तथा अभिनन्दन गरेका थिए। कार्यक्रममा एकल महिलातर्फ हेटौंडा उपमहानगरपालिकाकी स्वर्गीय सेनाका धर्मपत्नी १०३ वर्षीया गोमा ढकाललार्ई अभिनन्दन गरिएको थियो। त्यस्तै पुरानो गोरख गणबाट अवकाश प्राप्त मकवानपुरको पालुङका ९८ वर्षीय गजेन्द्रबहादुर कार्कीलाई पनि अभिनन्दन गरिएको थियो।

कार्यक्रममा एकै परिवारबाट ४ जना भन्दा बढीले सेनामा सेवा गरेको भन्दै धादिङकी पुर्खा कुमारी सिल्वाल, नुवाकोटका भरमान डंगोल, हुद्धम केपबहादुर थापा, पर्साका हर्कबहादुर राउत क्षेत्री, विष्णुमाया पाण्डे, चितवनकी सन्चकुमारी गुरुङ, चेतबहादुर खड्का, शिवबहादुर थापा, पुर्णबहादुर अधिकारी र धादिङका नरबहादुर थापा गरी ९ जना सम्मानित भएका हुन्।त्यस्तै, क्षेत्रमा फरक क्षमता भएका भुतपुर्व सैनिक र उनीहरूको हिताधिकारीलाई व्हिल चेयर, बैसाखी पनि प्रदान गरिएको थियो। जसमा पशुपति प्रसाद गणका सिपाही लिलतबहादुर थापा मगरका छोरा राजेश थापा मगर र काली प्रसाद गणका उप सेनानी नहेन्द्रबहादुर थापा क्षेत्रीका छोरी नानु थापालाई व्हिील चियर प्रदान गरिएको थियो।

त्यस्तै, मध्यपृतना अन्तरगतका लघुवित्त एवम् महिला उद्यमशील कर्जा कार्यक्रम मार्फत् कर्जा लिई विभिन्न आयआर्जमुलक उद्यम व्यवसाय सञ्चालन गर्नेमध्ये सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमी व्यवसायीलाई पुरस्कृत गरिएको थियो। नुवाकोटका अवकाश अमल्दार राजकुमार आचार्यले सर्वोत्कृष्ट उद्यमी र चितवनकी सुशिला न्यौपानेले उत्कृष्ट उद्यमीको प्रशंसा–पत्रसहित पुरस्कार पाए। साथै, लघुवित्त र महिला उद्यमशील कर्जा वितरण कल्याणकारी कार्यक्रममार्फत भूतपूर्व सैनिकहरू, आश्रित परिवार र बहालवाला सैनिक परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले आर्थिक रूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नगद सहयोग गरिएको छ। नेपाल इन्भेष्टमेण्ट बैंकसँगको सहकार्यमा सञ्चालित कार्यक्रमअन्तर्गत कृषि फार्म तथा राई मिल सञ्चालकहरूलाई चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा प्रधानसेनापति थापाले भूपू सैनिकका आवश्यकताहरू पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गरिरहेको विभिन्न योजना र कार्यक्रमहरूको नीति तय गरी कार्यान्वयन गरिरहेको बताए। ‘नेपाली सेनाका बहालवाला र पूर्व सेना तथा परिवारहरूको गुनासो, पीर, मर्का, राय र सुझाव सम्मेलनबाट संकलन गरी नीति निर्माण गर्दछौ,’ उनले भने, ‘त्यसैले भुतपुर्व सैनिक सम्मेलन धेरै प्रभावकारी हुन्छ।’

प्रकाशित: २३ चैत्र २०७७ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App