समाज

यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा चलाइने

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने भएको छ।

गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघसंस्थाका प्रतिनिधि, हिन्दु र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकारवाला निकायका प्रतिनिधि राखेर आइतबार सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले जानकारी दिए।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ।

तीनधारा पाठशालाअघिको मूल सडकमा चैत्र शुक्ल प्रतिपदादेखि रथ निर्माण सुरु हुन्छ। अष्टमीका दिन बिहान सेतो मच्छेन्द्रनाथको खट मच्छेन्द्रबहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा सुरु गर्ने परम्परा छ। रथयात्रा पहिलो दिन असनमा लगी राखिन्छ। राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ।

यस वर्ष वैशाख ७ गतेदेखि रथयात्रा सुरु हुने समितिको संयोजकसमेत रहेका काठमाडौं महानगरपालिका–२५ का अध्यक्ष शाक्यले बताए। गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकोमा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको उनले बताए। रासस

प्रकाशित: २३ चैत्र २०७७ ०१:३४ सोमबार

सेतो मच्छेन्द्रनाथ रथयात्रा