समाज

शहिदभूमी गाउँपालिकामा डढेलोले दुई घर जलेर नष्ट

धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं १ मा डढेलोको कारण आज दुईवटा घर जलेर नष्ट भएको छ। त्रिवेणी सामुदायिक वनमा हिजोदेखि लागेको डढेलोले नरबहादुर बोगटी र उनका छोरा राजबहादुर बोगटीको टिनको छाना भएको काठको एउटा र फुसको छाना भएको ढुंगा माटोले बनेको अर्कोे घर पूर्ण रुपमा जलेको वडा नं १ का वडा सदस्य सोमबहादुर राना मगरले जानकारी दिए। आगलागीको कारण बुबा छोरा कै गोठ, बाख्राको खोर र ४ वटा बाख्रा समेत जलेको उनले बताए।  

घरमा रहेको भाडावर्तन, लत्ताकपडा, अन्नसहितका समाग्री जल्दा जम्मा ७ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागी पीडित परिवार अहिले आफन्तको घरमा बसेका छन्। उनीहरुलाई गाउँपालिकासँग समन्वय गरि राहत उपलब्ध गराइने वडा सदस्य मगरले बताए। त्रिवेणी सामुदायिक वनदेखि सुरु भएको डढेलो अहिले खैरेनी सामुदायिक वनको बीच भागमा पुगिसकेको छ। डढेलो नियन्त्रणका लागि स्थानीयसहित प्रहरीले प्रयास जारी राखेपनि हावाहुरीको कारण नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित: २२ चैत्र २०७७ १२:४६ आइतबार

डढेलो शहिदभूमी गाउँपालिका