यातनापीडित समाजले द्वन्द्वको समयमा यातना पाएका व्यक्तिको पहिचानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । यातनापीडित समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएका व्यक्तिको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
साथै समाजले यातनापीडितहरुको शारिरिक तथा मानसिक स्वास्थ्यको उपचार गर्दै उनीहरुका परिवारको जिविकोपार्जन र बालबालिकाको शिक्षा, दिक्षाको ब्यबस्था गरिदिन माग गरेको छ ।
समाजले द्वन्द्वका समयमा यातना पाएका र धनजनको क्षति भएकाहरु प्रायः सबै ग्रामिण क्षेत्रका रहेको जनाउँदै उनीहरु राज्यको सहयोगबाट टाढा रहेको बताएको छ । उनीहरुको अवस्था अहिलेपनि शारिरिक र मानसिक रुपमा विक्षिप्त भएर जिउन बाध्य भएको समाजका गण्डकी प्रदेश अध्यक्ष जयकृष्ण पोखरेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
द्वन्द्वको समयमा यातना पाएर पीडित बनेका कास्कीमा ३९ जना रहेको समाजले जनाएको छ । उनीहरुलाई राहतका लागि सिफारिस गरेपनि राहत भने नपाएको समाजका अध्यक्ष पोखरेलले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा भने यातनापीडितको यकिन संख्या पत्ता लाग्न सकेको छैन । यातनापीडितको पहिचान र अवस्था कास्कीबाट पत्ता लगाउन शुरु गरिएपनि अन्य जिल्लामा पुग्न नसक्दा यकिन तथ्यांक लिन नसकिएको उनको भनाई छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यातना पीडितको पहिचान र उनीहरुको अवस्था पत्ता लगाएर उनीहरुको अवस्था सुधारका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।
प्रकाशित: २० चैत्र २०७७ ०९:१५ शुक्रबार