समाज

दुईवटा बिस्फोटका घटनामा पक्राउ परी छुटेपछि तेस्रो बिस्फोट

मालपोत कार्यालय लहानमा भएको बम बिस्फोटको आरोपमा सिरहाको सुखीपुर नगरपालिका– ५ का रामरिझन यादवलाई प्रहरीले पक्राउ गरेको छ। बम बिस्फोट आरोपमा यादव पहिलोपटक पक्राउ परेका भने होइनन्। ०७४ साल चैत ९ गते लहान ७ स्थित विकास ज्वेलर्समा भएको बम बिस्फोट र ०७५ साउन ३१ गत्ते विराटनगर उपमहानगरपालिकामा भएको बम विस्फोट अभियोगमा समेत पक्राउ परिसकेका हुन्।  

विकास ज्वेलर्समा भएको बम विस्फोट अभियोगमा उनी जिल्ला अदालत सिरहाबाट एक लाख धरौटीमा छुटेका थिए। विराटनगर महानगरपालिकामा भएको बम विस्फोट अभियोगमा जिल्ला अदालत मोरङबाट ३५ हजार रूपैयाँ धरौटीमा छुटेका थिए।  

विकास ज्वेलर्समा भएको बम बिस्फोटमा परी संचालक विकास सारडा उनका भाइ राहुल सारडासहित ८ जना घाइते भएका थिए। नवराजपुर गाउँपालिका– ३ कि ग्राहक देवकुमारी यादव, उनका सात वर्षका छोरा सतिस यादव, लहान नगरपालिका –११ कि विनिता चौधरी, २१ नम्बर वडाकी बबितादेवी यादव, ९ नम्बर वडाकी अस्मिता चौधरी, सप्तरी सुरुङ्गा नगरपालिका–६ की मनिकादेवी राम घाइते भएका थिए। केहि समय अस्पतालमा उपचारपछि उनीहरू निको भइसकेका छन्।

विराटनगर महानगरपालिकामा भएको बिस्फोटबाट भैतिक संरचनामा क्षति पुगेको थियो। मानवीय क्षति हुनबाट जोगिएको थियो। चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम बिस्फोटमा प्रेसर कुकर बम बिस्फोट भयो। बम बिस्फोटको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। बिस्फोटका योजनाकार भनिएका सुखीपुर नगरपालिका– ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपकिला– ३ का २६ वर्षीय अभिमन्यु गिरी रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए।

डिएसपी पौडेलका अनुसार पक्राउ परेका दुवैजनाले बिस्फोट आफूहरूले गराएको स्वीकार गरिसकेका छन्। प्रहरीले मोलपोत कार्यालयमा जडित सिसी क्यामेराको भिडियोमार्फत बिस्फोटमा संलग्नहरूको पहिचान गर्न सफल भएको उनले बताए। घटनास्थलमा भेटिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) को पर्चा, बिस्फोटक राख्ने व्यक्तिलगायतको संकेतका आधारमा घटना अनुसन्धान गर्दा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी प्रमुख डिआजी धिरजप्रताप सिंहले बताए।

‘घटना भएको १५ दिनमै बिस्फोटमा संलग्न मुख्य योजनाकार पक्राउ गर्न सफल भएका छौं,’ डीआइजी सिंह भन्छन्, ‘दुवैजनालाई हतियारसहित पक्राउ गर्न सफल भएका छौं। रामरिझनको साथबाट एकथान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ भने अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ।’

यसरी गरिएको थियो बिस्फोट

चैत १ गत्ते दिउँसो १२ः४७ बजे। लहान नगरपालिका ८ स्थित भाडाको घरमा सञ्चालित मालपोत कार्यालयमा सधैंजस्तो सेवाग्राहीको खचाखच भींड थियो। सबै काममा व्यस्त भएको बेला अचानक बिस्फोटको आवज आयो। मूठ फाँटनजिकै भएको बिस्फोटमा परी नजीकै रहेका एकजना कर्मचारीसहित ८ जना घाइते भए। जसमध्ये धनगढीमाई नगरपालिकाका ३५ वर्षीय दिनेश भण्डारी गम्भीर घाइते भए।  

घटनास्थलबाट प्रहरीले टुक्राटुक्रा भएको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला पार्यो। कार्यालयमा जडित सिसि क्यामेरा भिडियोबाट मास्क नलगाएका एकजना संकास्पद व्यक्तिलाई पनि प्रहरीले पहिचान गर्‍यो। र, उनको खोजीका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामले विशेष टोली परिचालन गर्‍यो। घटनाको पन्ध्रौं दिन प्रहरीले मोर्चाका मुख्य व्यक्ति रामरिझनलाई गाउँबाटै पक्राउ गर्यो। उनीसँग सोधपुछको क्रममा घटनाको तथ्य खुल्दै गयो। र, अर्का संलग्न अभिमन्युलाई समेत प्रहरीले पक्राउ गर्न सफल भयो।  

पक्राउ परेका रामरिझनले ०७४ चैत ९ गते लहानको विकास ज्वेलर्समा भएको बिस्फोटमा समेत संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए। उनी जिल्ला अदालत सिरहाको आदेशमा १ लाख धरौटी बुझाएर छुटेका थिए। ०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिकामा भएको बम बिस्फोट अभियोगमा समेत पक्राउ परेका रामरिझन जिल्ला अदालत मोरङको आदेशमा ३५ हजार रूपैयाँ धरौटी बुझाएर छुटेका थिए। पक्राउ परेका अर्का आरोपी अभिमन्यु पाँच वर्षदेखि मोर्चामा संलग्न रही बलपूर्वक चन्द असुली गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

कहाँबाट आयो बम?

मालपोत कार्यालय लहानमा बिस्फोटका लागि राखिएको बम सीमापारिबाट नेपाल प्रवेश गराइएको पाइएको छ। भारतीय सहर लौकाहा हुँदै सीमावर्ती ठाढीमा सुखिपुर नगरपालिका ८ का आरके भन्ने रामकुमार यादवले आफूलाई गत फागुन २६ गत्ते नै दिएको रामरिझनले प्रहरीलाई वयान दिएका छन। उक्त प्रेसर कुकर बम ठाढीबाट लहान ल्याएर चैत १ गते मालपोत कार्यालयमा बिस्फोट गराएको उनले प्रहरीसमक्ष दिएको बयानमा स्वीकार गरेको डिएसपी पौडेलले बताए।  

ठाढीबाट कस्को संरक्षणमा बम सुरक्षित लहानसम्म पुर्‍याइएकोबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। बम विस्फोटका मुख्य योजनाकार पक्राउ गरिएपछि सहयोगीहरूबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोटको चार दिनअघि नै ठाढीमा आइसकेको बम चार दिनसम्म कहाँ राखिएको थिया? ठाढी वा लहानमा अन्य सहयोगीहरू को छन् ? यसबारे पनि प्रहरीले पक्राउ परेकाहरूबाट खुलाउने प्रयास गरिरहेको छ।

प्रहरीले लहानको विकास ज्वेलर्समा भएको बम बिस्फोटका बेलाका सहयोगीहरूलाई समेत निगरानी गरिरहेको छ। ‘दुवै घटनालाई जोडेर पनि अनुसन्धान अघि बढाउने सोचमा छौं,’ एक प्रहरी अधिकारीले बताए। बिस्फोट गराउनुको कारणबारे पक्राउ परेका यादव र गिरीले भनेका छन्, मालपोत कार्यालयले भूमाफियालाई सहयोग पुग्ने काम गरिरहेका छन। पटकपटक सम्झाउँदा नमानेपछि बिस्फोट गराइएको हो।

प्रकाशित: १९ चैत्र २०७७ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App