समाज

दूषित पानी बेच्ने कम्पनीलाई जरिवाना

दूषित पानी उत्पादन तथा बिक्री वितरण गर्ने वीरेन्द्रनगरका दुई कम्पनीलाई जिल्ला अदालत सुर्खेतले जरिवानाको फैसला सुनाएको छ। न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले देउतीदर्शन वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिलाई ५० हजार र मध्यपश्चिम वाटर एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिलाई एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको हो।  

दूषित पानी उत्पादन तथा बिक्री वितरण गरेको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुवै कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार देउतीदर्शनले उत्पादन गर्ने सिजन्स ब्रान्डको जारमा लेदो भटिएको थियो। वीरेन्द्रनगर–११ पिपिरास्थित अस्मिता किराना पसलमा स्थानीय जीवन आचार्यले साउन १७ गते सिजन्स ब्रान्डको पानीको जार किन्दा लेदो फेला परेको थियो।  

वीरेन्द्रनगर–४ को सिंह नास्ता पसलबाट स्थानीय धनबहादुर खड्काले मध्यपश्चिम वाटर एन्ड बेभरेज इन्डस्ट्रिजको एक्वान्स ब्रान्डको पानीको बोतल किन्दा फट्याङ्ग्रा फेला परेको थियो। यस्तै, भेरीगंगा–१२ स्थित न्यू गंगामाला सप्लायर्समा स्थानीय कल्पना बिसीले एक्वान्स ब्रान्डको पानीको जार किन्दा फोहर फेला परेको थियो।

‘यि तीनवटै मुद्दामा आरोपितले कसुर गरेको ठहर्छ,’ फैसलामा भनिएको छ, ‘खाद्य ऐनको दफा (१) बमोजिम ५०–५० हजार जरिवाना गर्नू।’ खाद्य ऐन, २०२३ को दफा ३ विपरीत कार्य गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सोही ऐनको दफा ५ (१) बमोजिमको सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। यस अन्तर्गत पाँच वर्षसम्म कैद वा ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

प्रकाशित: १८ चैत्र २०७७ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App