समाज

नमुना समाजको बेइमानी: होटल सञ्चालकद्वारा राजस्व कार्यालयमा उजुरी

आफ्नो होटलको नाम र प्यान नम्बर चोरी गरेर नमुना समाजले स्थानीय तहबाट लाखौं रकम भुक्तानी लिएको भन्दै सुर्खेतकी एक होटल सञ्चालिका लालसरा भण्डारीले आन्तरिक राजस्व कार्यालयमा उजुरी दिएकी छन्। नमुना गाउँ निर्माणका लागि भन्दै सुर्खेतका ५ वटा स्थानीय तहसँग २५ करोड ५० लाखको सम्झौता गरेको नमुना समाजले एक करोड २५ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ।

नमुना समाजले पाँचवटै स्थानीय तहमा पेस गरेको खर्च विवरणमा हरियाली धनिषा होटलको बिल प्रयोग गरिएको छ। भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा लालसराको नाममा दर्ता रहेको उक्त होटलको नाम र प्यान नम्बर चोरी गरेर नमुना समाजले वीरेन्द्रनगर–१२ को ठेगानामा स्थानीय तहमा बिल पेस गरेको थियो।  

आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख डा. रामप्रसाद मैनालीले पीडित महिलाले आफ्नो होटलको नाम र पान नम्बर प्रयोग गरेर नमुना समाजले स्थानीय तहबाट रकम लिएको जानकारी दिँदै कारबाहीका लागि उजुरी दिएको पुष्टि गरे। ‘वास्तविक होटलधनीले छानबिनका लागि उजुरी दिनुभएको छ,’ उनले भने, ‘हामीले स्थानीय तहलाई उक्त होटलको नाममा काटिएका बिलको खर्च विवरण माग गरेका छौं ।’

मैनालीले एक आर्थिक वर्षमा एउटा प्यान नम्बरबाट २० लाखभन्दा बढीको बिल काट्न नपाइने बताए। उनले अर्काको होटलको नाम र पान नम्बर चोरीको विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्ने बताए। ‘अर्काको होटलको नाम र नम्बर चोरी गरेको पाइएमा जिल्ला प्रशासन कार्यालयले ठगीमा कारबाही प्रक्रिया अघि बढाउन सक्छ,’ उनले भने, ‘महिलाले दिएको उजुरीका विषयमा प्रजिअलाई पनि जानकारी गराउँछु।’

नमुना समाजले हरियाली धनिषा होटलको नामबाट ५ वटै स्थानीय तहमा २० लाख बढीको बिल पेस गरेको छ। पञ्चपुरी नगरपालिकामा अघिल्लो आर्थिक वर्ष नमुना गाउँ निर्माण, भैंसीपालन, होमस्टे, व्यावसायिक कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रा पसल र आलु खेती तालिम सञ्चालन गरेको भन्दै पेस गरिएको ५१ लाख ५४ हजार ७ सय ५० रुपैयाँमध्ये २७ लाख १४ हजार होटलको बिल छ। अन्य पालिकाहरूमा पनि नमुना समाजले यहीँ होटलमा तालिम सञ्चालन गर्दा हल भाडा, सहभागीलाई बस्नका लागि कोठा भाडा, खाना र खाजा खर्च भएको बिल पेस गरेको छ।

जिल्ला प्रशासन कार्यालयले पनि नमुना समाजका विषयमा छानबिन सुरु गरेको जनाएको छ । प्रशासन कार्यालयमा २०६१ सालमा दर्ता हुँदा यो संस्थाको ठेगाना भेरीगंगा–२ मा देखिन्छ। संस्थाले पालिकामा पेश गरेको सम्झौतापत्रमा भने ठेगाना वीरेन्द्रनगर नगरपालिका–१२ उल्लेख गरेको छ। कर कार्यालयमा नमुना समाजले कारोबारका लागि प्यान अथवा भ्याट नम्बर लिएको देखिँदैन्। ‘अर्कैको प्यान नम्बर प्रयोग गरेर यो संस्थाले कारोबार गरेको हुन सक्छ,’ कर कार्यालयका प्रमुख मैनालीले भने, ‘पालिकासँग नमुना समाजको प्यान नम्बर पनि मागेका छौं।’

प्रकाशित: १८ चैत्र २०७७ ०१:४५ बुधबार

नमुना समाज सुर्खेत राजस्व कार्यालयमा उजुरी