समाज

अझै घटेन पोखरामा वायु प्रदूषण (तस्बिरसहित)

पोखरा दिउँसै अध्यारो

आइतबार दिउँसो धुम्म भएको पोखरा । तस्बिरः उमेश पुन/नागरिक

पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवाँ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ । पोखरा दिउँसै अध्यारो देखिएको छ । आसपासका डाँडाकाँडा पनि नदेखिँदा उकुसमुकुस भएजस्तो अनुभूति भएको पोखरेलीले बताएका छन् । वायु प्रदूषणले पोखरा तीनदिनदेखि धुम्मिएको छ ।

बाक्लो तुवाँलोका कारण पोखरा आसपासका डाँडाकाँडा पुरै छेकिएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार आइतबार मध्यान्हको पोखराको वायुको गुणस्तर शनिबारकै जत्तिकै थियो । आइतबार मध्यान्ह पोखराको वायु गुणस्तर सुचकांक (एक्यूआई) स्वास्थ्यका दृष्टिले हानिकारक रहेको उनले बताए । उनका अनुसार पोखरालाई बाक्लो तुवालोले ढाकेको छ । तुवालोमा धुलो र धुँवाको मिश्रण हुन्छ । यसले भिजिविलिटी घटाउने उनले बताए ।  

जल तथा मौसम विज्ञान कार्यालयले पोखराको वायु प्रदुषण मापन गर्नका लागि तीनठाउँमा उपकरण राखेको छ । लेखनाथस्थित पोखरा विश्वविद्यालय, लामाचौरको गण्डकी बोर्डिङ स्कुल र रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय परिसरमा उपकरण राखेको छ । आइतबार मध्यान्ह पोखराको रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालयको वायु गुणस्तर सुचकांक १४५ थियो । त्यस्तै लामाचौरस्थित गण्डकी बोर्डिङ परिसरको सुचकांक २२२ र लेखनाथस्थित पोखरा विश्वविद्यालय परिसरको सुचकांक १९४ थियो ।  

‘शनिबार पनि यत्तिकै हाराहारीमा वायु गुणस्तर मापन भएको थियो,’ ढकालले भने, ‘शनिबारको तुलनामा आइतबार मौसममा सुधार आएको मान्न सकिन्न । यो अवस्था अझै रहने देखिएको छ ।’ उनका अनुसार हावा निकै नै सुस्त चलेको छ । चुरोटबाट निस्केको धुवाँ एकमिटर परसम्म पनि पुग्न सक्ने अवस्था नरहेको उनले बताए । ‘हावा नै चलेको छैन । चुरोटबाट निस्केको धुवाँ नै एकमिटर परसम्म पनि पुग्न सक्दैन । हावा चल्न नसक्दा पनि उकुसमुकुस भएको हो,’ उनले भने । ढकालका अनुसार तत्काल पानी पर्ने संकेत पनि छैन । मंगलबारपछि मात्र वर्षा हुन सक्ने सम्भावना रहेको उनले बताए । अहिलेको तुवाँलो सोमबार बेलुकीसम्म पनि यही अवस्थामा रहिरहने सम्भावना रहेको उनले बताए ।  

ढकालका अनुसार ‘वायु गुणस्तर सुचकांक जति कम भयो उत्ति राम्रो हो । नम्बर जति धेरै भयो, उत्ति वायु प्रदुषण बढि भएको बुझिन्छ । उनका अनुसार शुन्यदेखि ५० सम्मको सुचकांकले मानव स्वास्थ्यमा खासै असर पर्दैन । त्यो भन्दा माथि जानु पोखराका लागि राम्रो नमानिने उनले सुनाए । १०१ देखि १५० सम्म सुचकांक हुँदा त्यसले सुन्तला रंग पाउँछ र त्यो पनि जोखिमयूक्त हुन्छ । बच्चा, वृद्धवृद्धालाई त्यसले हानी गर्ने उनले बताए । १५१ देखि २०० सुचकांक हुनुले रातो रंगको संकेत पाउँछ । त्यो झनै जोखिमयुक्त हुन्छ । २०० देखि ३०० सम्मलाई बैजनी रंग दिइन्छ । यो पनि उत्तिकै जोखिमपूर्ण हो । ३ सय भन्दा माथि पुगेमा खैरो रंग दिइन्छ । त्यो त निकै नै जोखिमयुक्त हुने उनले बताए । ‘३०० भन्दा माथि उक्लेमा त सरकारले गाडी चलाउँदा पनि जोरबिजोर प्रणालि लागु गर्नुपर्छ,’ उनले भने । पोखराको वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई अप्ठेरो पार्ने उनले बताए ।  

‘पश्चिमी र स्थानीय वायु थोरै चलिरहेपनि जति चल्नुपर्ने त्यो नचल्दा प्रदुषण हट्न सकेको छैन,’ ढकालले भने, ‘यो बेला हावाहुरी चल्ने समय हो । त्यो अनुसार हावाहुरी पनि चलेको छैन । पानी परेर हावा हुरी चलेमा प्रदुषण घट्दै जान्छ, तर पानी पनि उत्तिसारो परेको छैन ।’ लामो समयको खडेरीको प्रभाव पनि योपटकको प्रदुुषण रहेको उनले बताए ।

गण्डकी प्रदेशको वन मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार गण्डकीका विभिन्न जिल्लामा आगलागी भएको छ । गोरखा, कास्की, स्याङजा, नवलपुरमा आगलागी भएको उनले बताए । त्यही आगलागीले पनि अहिलेको वायु प्रदूषण बढाएको उनले बताए ।  

‘आगलागी पूर्ण रुपमा नराम्रो पनि होईन, आगलागीपछि कतिपय बोट विरुवाले पालुवा हाल्न थाल्छ,’ ढकालले भने, ‘तर आगलागी भएपछि पानी पर्दा भने मलिलो माटो बगेर जाँदा पनि त्यो ठाउँ रुखो हुन्छ । मान्छेको नियन्त्रणमा रहेर आगलागी हुँदा समस्या हुँदैन । तर, आगोले मान्छेलाई नियन्त्रण गरेमा घातक हुन्छ ।’ पहुँच नहुँदा पनि आगलागी बेलैमा नियन्त्रण गर्न सहज नभएको उनले बताए । ‘सतर्क भएर बस्ने बेला भएको छ,’ उनले भने ।  

प्रकाशित: १५ चैत्र २०७७ ०९:३३ आइतबार

वायु प्रदूषण पोखरा