समाज

अधिकांश हत्या घटनामा आफन्तकै संलग्नता

दाइबाटै अपहरणपछि हत्या गरिएका सिरहाकाे मिर्चैया नगरपालिका ७ का २४ वर्षीय शिवकुमार यादवकी भाविवहवल पत्नी रञ्जना यादव। साथमा काखे छाेरी। तस्बिर: मिथिलेश/नागरिक

चैत ८ गते सिरहाको मिर्चैया नगरपालिका–७ का २४ वर्षीय शिवकुमारको हत्या गरिएको शव फेला पर्‍यो । उनलाई झुक्याएर नाता सम्बन्धकै व्यक्तिले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। शिवकुमारको हत्या आरोपमा काकाका छोरा मिर्चैया–७ का २७ वर्षीय विष्णु यादव र उनका जेठान मिर्चैया–९ का २४ वर्षीय इन्द्रदेव यादव पक्राउ परे।

‘विष्णुले इन्द्रदेवसँग मिलेर शिवकुमारको हत्या गरेको खुलेको छ,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले भने, ‘व्यक्तिगत रिसिइबी हत्या गरी साधेको अनुसन्धानबाट खुलेको छ।’ करिब दुई वर्षअघि विष्णुलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालत सिरहाले उनलाई दुई वर्षको कैद सजाय सुनाएको थियो । शिवकुमार र विष्णुको परिवारबीच विवाद भइरहन्थ्यो।

विवादको जानकारी विष्णुलाई कारागारमा भेट्न जाने परिवारका सदस्यले साझा गर्थे। सुनेर उनी झोक्किन्थे। कैद भुक्तान गरी घर फर्केपछि विष्णुले आफ्नो परिवारसँग भएको विवादको बदला लिने योजना बुन्न थाले। जसका लागि उनले इन्द्रदेवको सहयोग लिए ।चैत ७ गत्ते चोहर्वामा दुवैजना मिलेर शिवकुमारको हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यही दिनयोजना पूरा गर्ने सोच भए पनि शिवकुमार भारतको जयनगर गएकाले योजना विफल भयो। शिवकुमार जयनगरबाट फर्केपछि साँझ विष्णुले उनलाई फोन गरेर भेट्न बोलाए। मिर्चैयाको सौर्य सिमेन्ट उद्योगमा कार्यरत शिवकुमार घरमा झुट बोलेर विष्णुलाई भेट्न गए। उनले घरमा फ्याक्ट्रीमा काम छ ढिलो हुन सक्छ भनेका थिए। मिर्चैयास्थित एक होटलमा अबेर रातिसम्म विष्णु र इन्द्रदेवसँग खानपिन गरेको प्रहरीले बताए।

खानपीन गरी फर्किने क्रममा मिर्चैयास्थित जिवा खोलानजिक विष्णुले कुरा गर्नु छ भन्दै आफ्नो बाइकमा चढाए । विष्णु र इन्द्रदेव बसेको बाइकमा शिवकुमार पनि थपिए। तीन जना सवार बाइकलाई विष्णुले अलिक अगाडि बढाएर राजमार्गभन्दा दक्षिण आँप बगैचातर्फ मोडे। बगैचामा पुगेपछि विष्णुले लुकाएर राखेको धारिलो हतियार निकालेर शिवकुमारमाथि प्रहार गरे। इन्द्रदेवको सहयोगमा विष्णुले शिवकुमारलाई हत्या गरी त्यहीँ आँप बगैँचामा निर्माणाधीन घरमा इँटाले छोपिदिए । उनको मोबाइल पनि त्यहीँ बालुवामा गाडिदिएर विष्णु र इन्द्रदेव बाइकल चढेर फरार भएको प्रहरीले बताए।

भोलिपल्ट विष्णु र इन्द्रदेवले शिवकुमारको घरको मोबाइलमा फोन गरे। फोन उठेन। घरका सदस्यहरू बिहानैदेखि शिवकुमारको मोबाइलमा तारन्तार फोन गरिरहेका थिए । शिवकुमारको फोन नउठेपछि उनका दाइ रामकुमार घरको मोबाइलमा आएको नम्बरमा फोन लगाए। फोन उठ्यो। हिन्दी भाषामा बोल्दै रामकुमारलाई ५० लाख रुपैयाँ फिरौती दिए शिवकुमार फिर्ता गर्ने नत्र सिध्याइदिने भन्दै फोन काटे। यसो भन्ने विष्णु र इन्द्रदेव थिए । आत्तिएका रामकुमारले विस्तृत रूपमा बुझ्न फेरी फोन लगाए । तर त्यसपछि फोन लागेन । राजमार्ग गस्तीमा निस्केको मिर्चैया प्रहरीको टोलीले शनिबार राति बेवारिसे अवस्थामा राजमार्गमा रोकिराखेको मोटरसाइकल फेला पारेको थियो । 

त्यो मोटरसाइकल आइतबार बिहानसम्म पनि कसैले दाबी गर्न आएको थिएन । प्रहरीले मोटरसाइकल भेटिएको ठाउँवरपर खोजी सुरु गर्‍यो। मोटरसाइकल भेटिएको ठाउँ नजिकै रगतको छिटा देखियो। त्यसलाई पछ्याउँदै जाँदा आँपको बगैंचामा छोपिएको अवस्थामा शव फेला पर्‍यो। शव रातिदेखि हराइरहेका शिवकुमारको थियो। बुबा जुगुत यादवले शव पहिचान गरे। पक्राउ परेका विष्णु र इन्द्रदेवलाई अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाइएको सिरहा प्रहरी प्रवक्ता डीएसपी शालिग्राम शर्माले बताए।

फागुन २० गते वीरगन्जमा भारतीय नागरिक असरफ अन्सारीले पत्नी मनु थापाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । वीरगन्जको छपकैयामा डेरा गरी बस्ने उनीहरूबीच समान्य विवाद हुँदा सो घटना भएको थियो। डेढ वर्षअघि दुवै जनाले प्रेम विवाह गरेका थिए। मृतक मनुको पहिलो पतितर्फबाट साढे तीन वर्षकी छोरी छन्। पहिलाका पतिसँग मनुको सम्बन्ध विच्छेद भइसकेको थियो भने असरफको पनि पहिलाकी पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको छ।

चैत ११ सर्लाही सदरमुकाम मलंगवामा एक युवकको टाउको काटेर हत्या गरिएको शव खेतमा फेला पर्‍यो। फेला परेको शव बुधबार रातिदेखि बेपत्ता मलंगवा नगरपालिका–१० का ३० वर्षीय सुशील रायको पहिचान भएको छ। प्रहरीले राय हत्याको आरोपमा मलंगवा नगरपालिका–९ का कमल पण्डित र अशोक झालाई पक्राउ गरेको छ। अशोक, कमल र मृतक सुशील घनिष्ठ साथी हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागुऔषध प्रयोगकर्ता पाइएको एसपी सन्तोषसिंह राठौरले बताए।

बुधबार साँझ उनीहरूसँगै बसेर लागुऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमल र सुशीलबीच आर्थिक लेनदेनको विषयमा विवाद भयो। सोही क्रममा कमल र अशोक मिलेर सुशीलमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले बताए। हत्या गरेपछि मृतक सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फालिदिए। मृत शरीर भेटिएको ठाउँ भन्दा करिव ६० मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ।

फागुन १० गते महोत्तरीको पिप्रा गाउँपालिका–५ सहोडबास्थित घरबाट ओछ्यानसहित अपहरित ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीता झाको हत्या गरी गाडिएको शव ३२ दिनपछि शुक्रबार फेला परेको छ । झा दम्पतीलाई हत्या गरी नुन हालेर घरभन्दा तीन किलोमिटरको दूरीमा रहेको बन्दै गरेको कच्ची सडकमा पाँच फिट गहिरो खाल्डोमा गाडिएको थियो।

झा दम्पतीको अपहरणपछि हत्या अरोपमा उनकै छिमेकीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। झा दम्पतीको नजिकको छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्र सहित भारतको बिहार मधुवनी घर भई यसै गाउँमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । रामबाबु र मुसाफिरको घरको दूरी मुस्किलले तीन सय मिटर छ। उनीहरू घनिष्ठ परिचित थिए। मुसाफिर भूमिसुधार तथा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी थिए।

जग्गा कारोबारी हरेन्द्र भारतीय नागरिक हुन्। उनले रामबाबुकै सहयोग तथा साझेदारीमा यस क्षेत्रमा सस्तोमा जग्गा खरिद गरी प्लटिङ गरी महँगोमा बिक्री गर्दै आएका थिए । हरेन्द्रले रामबाबुको सहयोगमा सहोडबामा सस्तोमा किनेर १३ बिघा जग्गा प्लटिङ गरेका थिए। त्यसको उत्तरतिर मुसाफिरको १४ कट्ठा जग्गा छ। मुसाफिरको जग्गाभन्दा अझै उत्तरतिर हरेन्द्रले नै किनेको दुई बिघा जग्गा पर्छ। बीचमा पर्ने जग्गा खरिद गरी हरेन्द्र बाटो निकालेर महँगोमा बिक्री गर्न चाहन्थे।

तर मुसाफिर उनलाई आफ्नो जग्गा बेच्न तयार भएनन्। जग्गा दिन रामबाबु र हरेन्द्रले ससुरा फुसाफिरलाई धम्क्याउँदै आएको बुहारी अंशु झाले बताइन्। मोटरसाइकलमा बसाएर जग्गा भएको ठाउँमा लगेर धम्क्याउँथ्यो। उनले भनिन्, ‘हामीलाई आवश्यकता नै नभएपछि किन बेच्नु भन्दै उहाँ इन्कार गर्दै आउनुभएको थियो। चिनजानकै नजदिकीले अपहरण र हत्या गर्छन् भनेर हामीले सपनामा पनि सोचेका थिएनौं। पैसा कमाउने लोभमा अभिभावकको समेत बलि चढाउनेलाई फाँसी दिनुपर्छ।’

प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले नागरिकसँग भने, ‘पैसा कमाउने धुनमा जघन्य अपराध घटाउन उद्यत् यस घटनाले मानवतामाथि नै प्रश्न खडा गरेको छ। सामान्य मानिसको दिमागले यो हदसम्मको अपराध घटाउन सक्दैन। यो व्यावसायीक आपराधिक दिमागको उपज हो।’ सामान्य विवादमा जघन्य अपराध समाजमा बढ्दै गएको छ। प्रहरीका अनुसार जघन्य अपराध घटनामध्ये झन्डै ४० प्रतिशत नाता सम्बन्धबाटै भएको पाइन्छ। समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्त तथा परिचितभित्रै हत्याका घटना बढेको डिआइजी सिंहको भनाइ छ।

सामान्य विषयमा समाज र घरभित्रै जघन्य घटना निकै बढेका छन् सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा भन्छन्, ‘यस्ता घटना रोक्न समाजमा भौतिक दूरी घटाउनुपर्छ।’ पहिलापहिला समाजमा मानिसहरू गोलबद्ध भएर बस्थे। समाजका समस्याबारे चर्चा हुन्थ्यो। त्यहीँ सामाधानका जुक्ति फुथ्र्यो र समाजमा त्यो लागू हुन्थ्यो।

‘पछिल्लो समय समाजमा न नैतिकता जीवित छ न मानवता,’ उनी भन्छन्, मानसिक विचलन, व्यस्तता, नफरतले सामाज भरिँदै गएको छ। प्रेम, सद्भाव, आदर, सम्मान, समन्वय हराउँदै गएको सामाजमा हिंसाले स्थान पाउन थालेको छ। यो डरलाग्दो गरी फैलिँदै छ। दैलोको सरकार भौतिक विकासमा व्यस्त हुँदा सामाजिक गठबन्धक भत्किँदै गएको भेउ नै पाएको छैन। सरकार समयमै सामाजिक गठजोर बलियो बनाउन गम्भीर नबने अवस्था अझ भयावह बन्ने झाको विश्लेषण छ।’

प्रकाशित: १४ चैत्र २०७७ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App