समाज

द्वन्द्व पीडितलाई निशुल्क स्वास्थ्य बिमा

पूर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्धन्द्धको समयका पीडितहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रम अन्तर्गत लक्षित बर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्।

गाउँपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको छ। हाललाई १ सय परिवारलाई निशुल्क स्वास्थ्य बिमाको योजना ल्याईएको भए पनि त्यो संख्या थप गर्न सकिने गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए। ‘निशुल्क स्वास्थ्य बिमा पछि राज्य परिबर्तनका लागि योगदान दिएकाहरुका परिवारलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुग्ने छ।’

महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाजको सहकार्यमा संचालित ‘महिला शान्ती र सुरक्षा’ परियोजनाको संवाद कार्यक्रममा सहभागी द्धन्द्ध पीडितहरुले जनप्रतिनिधि समक्ष निशुल्क स्वास्थ्य बिमाका लागि अनुरोध गरे पछि रोल्पाका केहि स्थानिय तहका प्रमुखहरुले निशुल्क स्वास्थ्य बिमाको प्रतिबद्धता गरेका थिए। रोल्पामा ९ सय ६९ जना मृतक र ३३ बेपत्ताको आधिकारीक तथ्याङ्क छ।

 

प्रकाशित: ११ चैत्र २०७७ ११:५३ बुधबार

बिमा रोल्पा