समाज

सिमरामा स्थानीय र प्रहरीबीच झडप

तस्बिर: उपेन्द्र यादव/ नागरिक

जितपुर सिमरा उपमहानगरपालिका २ सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा स्थानीयहरुको एक समूहले बुधवार दिउँसो ढुंगामुढा प्रहार गरेका छन् ।  स्थानीयहरुको ढुंगामुढा प्रहारबाट उद्योग भवनको झयाल, पार्किङ्ग गरिएको गाडीको शिशा फुटनुको साथै कर्मचारी र सुरक्षागार्डसमेत घाइते भएको बारा प्रहरीले जनाएको छ ।  

बारामा प्रहरी नायव उपरिक्षक गौतम मिश्रले दिउँसो तीन बजेको समयमा सय जनाको संख्यामा स्थानीयहरुले उद्योग वाहिर आएर उद्योग भित्र ढुंगा मुढा प्रहार गरेको बताएका छन् ।  

स्थानीहरुको ढुंगा प्रहारबाट उद्योग भित्र रहेका मजदुर सुरक्षाकर्मी घाइते हुनुको साथसाथै झयाल र गाडीको सिसासमेत फुटेको बताए । स्थानीयहरुले ढुंगामुढा गर्दा अवस्था उग्र बनेपछि त्यसलाई नियन्त्रणमा लिनको लागि तीन राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको मिश्रले बताए ।  

स्थानीयहरुले उद्योग माथि गरेको आक्रमणले उद्योग भित्र एक करोड जतिको क्षति भएको उद्योगका संचालक पवन बाबु गुप्ताले बताएका छन् ।स्थानीयहरुले आक्रमण गर्दा खेरि सुरक्षाकर्मी नआएको भए यो भन्दा पनि धनजनको क्षति हुने अवस्था सृजना हुने अवस्था आएको उनले बताए ।  

स्थानीय समेत रहेका जीतपुरसिमराका २ वडाध्यक्ष तिलक श्रेष्ठले उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेको विरोधमा स्थानीयहरु लागे पछि यो अवस्था आएको बताएका छन् ।  

स्थानीयहरुले उद्योगमा गरेको ढुंगामुढाले उद्योगमा क्षति भएको छ भने प्रहरीको कुटाईबाट स्थानीयहरु समेत घाइते भएको र यो अवस्था आउनमा उद्योग नै जिम्मेवार रहेको वडाध्यक्ष श्रेष्ठले बताए ।  

उद्योगको गोदाममा जडान गरिएको मेशिनबाट ठूलो आवाज आएपछि ठूलो आवाजको कारणले घरमा बस्न समस्या भएको भन्दै फागुन ११ गते स्थानीयहरुको एक समूहले गोदाममा तालाबन्दी गरेका थिए ।  

स्थानीयहरुले अघि सारेको माँगलाई सम्बोधन नै नगरी प्रहरीले चैत्र २ गते गोदामको ताला खोलेपछि त्यसको विरोधमा स्थानीयहरुले आज ढुंगामुढा गरेको जनाइएको छ ।  

प्रकाशित: ४ चैत्र २०७७ १४:२९ बुधबार