समाज

सडक अलपत्र पार्ने ठेकेदारलाई एक रुपैयाँ सहयोग

जिल्लालाई राजधानीसँग जोड्ने दोलखाका 'लाईफलाईन' मुडे-चरिकोट सडक ५ वर्षदेखि अलपत्र पार्ने शंकर माली निर्माण सेवालाई स्थानीयले बुधबार एक रुपैयाँका दरले सहयोग उठाएर ७ सय ४ रुपैयाँ रकम सहयोग पठाएका छन्।

५ वर्षदेखि अलपत्र यो सडकमा कार्यरत ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका सञ्चालक दिपक सापकोटा फेरि बेपत्ता भएपछि बुधबार सडक ढिलाइविरुद्धको संघर्ष समितिले एक रुपैयाँका दरले आर्थिक संकलन गरेको हो।  

चरिकोट बजारवासीबाट संकलित रकम समितिले बुधबार नै आयोजना प्रमुखदीप बाराहीलाई बुझाएको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए। एक अर्बको ठेक्का लिएर काम नगर्ने शंकर माली निर्माण सेवालाई दबाब स्वरुप नागरिकबाट एक रुपैयाँका दरले रकम उठाएर पठाइएको उनले बताए।

चेक बाउन्सको मुद्दामा परेका सापकोटा एक सातादेखि सम्पर्कविहीन छन्। प्रहरीको खोजी सूचिमा रहेका उनलाई समात्न महानगरीय प्रहरी कार्यालयले टोली परिचालन गरेको छ। उनी बेपत्ता भएपछि सोही निर्माण सेवाका अन्य सञ्चालकलाई झिकाएको सडक सुधार आयोजनाले अन्य सञ्चालक मार्फत पनि काम गराउने वातावरण नरहेको जनाएको छ।

आयोजना प्रमुख दीप बाराहीका अनुसार यो कम्पनीले जिम्मा लिएको साईटमा सम्पूर्ण काम रोकिएको छ। ठेकेदार फरार बनेपछि उक्त कम्पनीलाई कार्बाही गरेर नयाँ ठेकेदार नियुक्त गर्न दबाब बढेको छ।  

संघर्ष समितिले तत्काल ठेकेदारलाई कार्बाही प्रक्रिया अगाडि बढाउन आइतबारसम्मको अल्टिमेटम दिएको छ। सोमबारबाट कडा ढंगका कार्यक्रम सञ्चालन गरिने संघर्ष समितिले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७७ ०६:५० बुधबार

सडक अलपत्र ठेकेदार सहयोग