समाज

पालिकाको जस्तापाता हुनेखानेलाईः विपन्न चुहिने गोठमा बस्न बाध्य

मालारानी गाउँपालिका–५, आरुखोरका चन्द्रबहादुर बिक जस्तापाता (टिन) पाउने आसले धेरै पटक वडा र गाउँपालिका कार्यालय पुगे। गत असारमा ढुंगाले छाएको घर भत्किएपछि उनको परिवार गोठमा रात बिताउँदै आएको छ। २५ वर्षअघि बनाएको पुरानो गोठ छाना चुहिने भएकाले त्यो पनि बस्न लायक छैन। तर उनको परिवार अहिले त्यही चुहिने छानामुनि बस्दै आएको छ। पटकपटक वडा र पालिका कार्यालय धाउँदा उनलाई जनप्रतिनिधिले जस्तापाता दिने आश्वासन मात्र दिए। तर विपन्न विक परिवारको छानो उही छ।  

आर्थिक अवस्था कमजोर भएका बिकले जस्तापाता पाउने आसले घर बनाउन सुरु पनि गरे। तर उधारो आश्वासन दिएको पालिकाले अहिले जस्तापाता दिन आनाकानी गरेको विक बताउँछन्। ‘टिन दिन्छु भनेपछि जेनतेन घर बनाउन सुरु गरें,’ उनले भने,’ अहिलेसम्म हामी चुहिने छानोमै बस्नुपरेको छ, बर्खा सुरु हुन लाग्यो, यही पनि भत्किने हो कि भन्ने चिन्ता छ।’ भएको थोरै खेत बेचेर घर बनाउन सुरु गरेका बिक वर्षायाम सुरु हुँदा घर न खेत हुने हो कि भन्ने चिन्तामा छन्। गोठमा भएको केही थान खिया लागेर चुहिने भएको टिनले ढाकछोप गरेर उनले निर्वाह गरिरहेका छन्।  

मालारानी–५ मिलनटोलका कमला विक पनि टिन पाउने आसमा धाउँदा धाउँदा थाकेपछि सहकारीबाट रिन काढेर टिन किन्न बाध्य भइन्। वडाले धेरैपटक रित्तो हात फर्काएपछि उनले भारतमा रहेका पतिसँग सल्लाह गरेर रिनको पैसाले टिन खरिद गरिन्। ‘पति कोरोनाले ६ महिना बेरोजगारै बस्नुभयो, पैसाको धेरै समस्या छ,’ उनले भनिन्, ‘वडा कार्यालय हुनेखानेको मात्र रहेछ, हाम्रो वडाले सुनेन।’

मालारानी गाउँपालिकाले २ करोड ८० लाख रूपैयाँ बराबरको टिन खरिद गर्न बजेट विनियोजन गरेको छ। जसमध्ये दुई करोड ४९ लाख रूपैयाँको टिन पालिकाले खरिद गरिसकेको छ। अति जोखिमका घरहरूलाई प्राथमिकता दिएर टिन व्यवस्थापन गर्नुपर्नेमा त्यसो हुन सकेको छैन। आफन्त र चिनजानका आधारमा टिन वितरण भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन्।  

मालारानी–५ का वडाध्यक्ष शोभाखर भुसालले पालैपालो सबैलाई टिन वितरण भइरहेको बताए। ‘कहीँकतै कमजोरी देखिएको छ, मैले उहाँहरूलाई सम्पर्क पनि गरेको छु,’ उनले भने, ‘टिन पालिकामा आएको छैन, आएपछि प्रदान गर्नेछौं।’ प्रक्रियागत काम गर्दै जाँदा कतिपय कुराले ढिलाइ भएको उनको भनाइ छ।

अर्घाखाँचीका सबै स्थानीय तह खरका छानामुक्त पालिका बनाउने अभियानमा छन्। जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाले खरका छानामुक्त बनाउने भन्दै टिन खरिद गरेर वितरण गरिरहेका छन्। दलित तथा विपन्न परिवारका लागि ‘जनता आवास कार्यक्रम’अन्तर्गत संघीय सरकारको सहयोग तथा पालिकाको आफ्नै बजेट विनियोजन गरेर टिन वितरण गरिएको छ। पालिकाले दलित तथा विपन्नका लागि बनाएको मापदण्डमा सबै अटाउन भने सकेका छैनन्।

६ वटा तहमा १० करोड बढीको जस्तापाता

अर्घाखाँचीका ६ स्थानीय तहले हालसम्म १० करोड रूपैयाँभन्दा बढी जस्तापाता खरिदका लागि बजेट विनियोजन गरेको तथ्यांकमा उल्लेख छ। संघीय बजेट र पालिकाको आफ्नै बजेट गरी जिल्लाका ६ स्थानीय तहले १० करोड १३ लाख ३० हजार रूपैयाँभन्दा धेरै जस्तापाताको खरिदका लागि विनियोजन गरेका छन्।  

त्यस्तै जस्तापाताकै लागि सन्धिखर्क नगरपालिकाले १ करोड २० लाख, शीतगंगा नगरपालिकाले १ करोड ७३ लाख ३० हजार, भूमिकास्थान नगरपालिकाले १ करोड, मालारानी गाउँपालिकाले दुई करोड ८० लाख, पाणिनी गाउँपालिकाले २ करोड २० लाख र छत्रदेव गाउँपालिकाले १ करोड २० लाख रूपैयाँ गरी १० करोड १३ लाख ३० हजार रकम विनियोजन गरेका छन्।  

दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रम, सुरक्षित आवास, गरिबी निवारण कार्यक्रम, खरका छानामुक्त कार्यक्रमजस्ता नारासहित ठूलो रकम टिनका छानामा विनियोजन भएको छ। अर्घाखाँचीका ६ वटै स्थानीय तहले गरिब तथा विपन्न परिवारलाई केन्द्रित गरी खरको छाना हटाई टिनको छाना लगाउने कार्यक्रम बजेटमा समावेश गर्दै आएका छन्। यी प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रमले जनप्रतिनिधिलाई काम देखाउने र जस लिने बाटो बनेको छ।  

खरको छानाका कारण कष्ट बेहोरिरहेका विपन्न समुदाय यो कार्यक्रमले लाभान्वित भएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्यूत गौतमले बताए। ‘यो कार्यक्रम प्रभावकारी छ, जनतालाई सुविधा भएको छ,’ उनले भने, ‘वर्षायाममा छानो चुहिने समस्या हटेको छ। गर्मीमा आगलागीको घटनामा पनि कमी आएको छ।’ आर्थिक अभावको कारण खरको छानामुनि बस्न बाध्य नगरवासीलाई सुविधा भएको उनको भनाइ छ।

खरको छाना विस्थापन गरिँदै  

अर्घाखाँचीका केही स्थानीय तह खरका छानामुक्त तह बनाउने अभियानमा जुटेका छन्। जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाले खरका छानामुक्त बनाउने भन्दै संघीय सरकारको सहयोग तथा पालिकाको आफ्नै बजेट विनियोजन गरेर टिन (जस्तापाता) वितरण गरिरहेका छन्। तर उक्त जस्तापाता विपन्नसमक्ष नपुगेको गुनासो पनि आइरहेको छ। अर्घाखाँचीका ६ स्थानीय तहले हालसम्म १० करोड रूपैयाँभन्दा बढी टिन खरिदका लागि बजेट विनियोजन गरेको तथ्यांकमा देखिन्छ। संघीय बजेट र पालिकाको आफ्नै बजेट गरेर जिल्लाका ६ स्थानीय तहले १० करोड १३ लाख ३० हजार रूपैयाँभन्दा धेरै टिनका लागि विनियोजन गरेका छन्।  

सन्धिखर्क नगरपालिकाले १ करोड २० लाख रूपैयाँ बराबरको टिन खरिद गरी वितरण गरेको छ। खरका छाना विस्थापित गर्ने उद्देश्यले गरिब तथा विपन्नलाई टिनका पाता वितरण गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताए। शीतगंगा नगरपालिकाले १ करोड ७३ लाख ३० हजार रूपैयाँबराबरको टिन खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले जानकारी दिए। भूमिकास्थान नगरपालिकाले टिनका छाना खरिद गर्न १ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।  

यस्तै मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकाले क्रमशः २ करोड ८० लाख, २ करोड २० लाख र १ करोड २० लाख रूपैयाँ गरी १० करोड १३ लाख ३० हजार रूपैयाँ टिनका लागि विनियोजन गरेका छन्।  

दलित तथा विपन्न परिवारका लागि जनता आवास कार्यक्रम, सुरक्षित आवास, गरिबी निवारण कार्यक्रम, खरका छाना मुक्त कार्यक्रमजस्ता नारासहित ठूलो रकम टिनका छानामा विनियोजन भएको छ। अर्घाखाँचीका ६ वटै स्थानीय तहले गरिब तथा विपन्न परिवारलाई केन्द्रित गरी खरको छाना हटाई टिनको छाना लगाउने कार्यक्रम बजेटमा समावेश गर्दै आएका छन्। यी प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रमले जनप्रतिनिधिलाई काम देखाउने र जस लिने बाटो बनेको छ।

प्रकाशित: ३ चैत्र २०७७ ०१:१७ मंगलबार

विपन्न