समाज

भरुवा बन्दुकसहित दुई पक्राउ

बन्दुकसहित पक्राउ राई र बिक । तस्बिरः महेश्वर

भरुवा बन्दुक लुकाईराखेको अवस्थामा उदयपुरका दुई स्थानीय पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका ८ सिसौली सानो खैरेनी टप्पुमा बन्दुक लुकाएर राखेको आरोपमा उनीहरु प्रहरी नियन्त्रणमा परेका हुन्।  

बन्दुक लुकाईराखेको भन्ने विशेष सुराकीका आधारमा बेलकास्थि इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले बेलका ९ कमलाबारीका ३७ वर्षीय सनवीर राई र सोही ठाउँका ६५ वर्षीय साईला भन्ने लक्ष्मण विकलाई पक्राउ गरेको हो। पक्राउ गरेपछि खैरेनी टप्पुमा खानतलासी लिँदा खैरेनी टप्पुस्थित बारीमा बन्दुक लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  

पक्राउ राई र विकलाई इप्रका रामपुरमा ल्याएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७७ ०६:४५ आइतबार

भरुवा बन्दुक