समाज

नक्कली मोबिल बिक्री गर्ने पक्राउ

गुणस्तरहीन नक्कली मोबिल बिक्री गर्ने एकजनालाई प्रहरीले विराटनगरबाट बिहीबार पक्राउ गरेको छ। विराटनगर–११ जनपथ टोलमा घर गोदाम भाडा लिएर बस्दै आएका ७८ वर्षीय शंकरलाल खेम्कालाई नक्कली मोबिल बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका खेम्काले २० वर्षदेखि जनपथमा घर गोदाम भाडामा लिएर नक्कली इन्जिन मोबिल बिक्री गर्ने गरेको अनुसन्धानबाट देखिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘उसले नक्कली मोबिललाई बट्टामा सर्बोको स्टीकर टाँसी बिक्री गर्नेको पाइएको हो। बरामद गरिएको मोबिल कस्तो प्रकारको हो भन्ने विषयमा प्राविधिक रिपोर्ट आएपछि मात्रै सबै जानकारी हुनेछ। घटनाको थप अनुसन्धान अघि बढाएका छौं।’

प्रहरीले खेम्काको गोदामबाट मोबिल तयार गर्ने मेसिन, स्टीकर बनाउने सामग्री, तयारी अवस्थाको स्टीकर, इनामेललगायतको सामान बरामद गरेको छ। २ सय लिटर मोबिलसहित १५ वटा ड्रम, २० लिटर मोबिलसहित ३ वटा ड्रम, १० लिटर मोबिलसहित २ वटा बाल्टी, १ लिटरको मोबिलसहित १४ वटा बट्टा, २ सय लिटरको खाली ड्रम २४ वटा, सर्बोको स्टीकर १ सय पिस, स्टीकर छाप्ने फर्मा २१ वटा, लिटर मापन गर्ने सामग्री, सर्बोको स्टीकर लगाएको १ सय थान १ लिटर वाला बट्टा, एसियन पेन्ट लेखिएको इनामेल ५ सय लिटरको ७ बट्टलगायतको सामान बरामद गरी डिएसपी राईले बताए।

प्रकाशित: २८ फाल्गुन २०७७ ०२:०१ शुक्रबार

नक्कली मोबिल