सुर्खेतको चौकुने गाउँपालिका–४ भुरेभावरकी रंगा रोकाय एक साता खुल्ला चौरमा रात विताएर भर्खरै घरको आँगन टेकिन्। चिसोमा रात बिताउनु उनका लागि रहर थिएन। रंगाका श्रीमान मानबहादुर पुजारी हुन्। देवर पवन धामी छन्। ‘महिनावारी (छाउ) भएको समयमा आँगन टेक्यो भनेपनि देउता लाग्छन्,’ रंगाले भनिन्, ‘देउता रिसाउने भएकालेसात दिन खुल्ला ठाउँमा कटाउनुपर्छ।’
अघिल्लो वर्ष कर्णालीका छाउगोठ भत्काउने अभियान चल्यो। त्यहीँ अभियानले महिनावारी हुँदा सुत्नलाई बनाइएको कटेरो भत्कायो। अहिले उनी महिनावारी हुँदा पानी नपरेको समयमा खुल्ला ठाउँमा खाट र खरको छानो हालेर सुत्छिन्। पानी परेको बेला पाल टाँगेर रात कटाउनुपर्छ।
खुल्ला ठाउँमा रात विताउनु पर्दाका पीडा र भोगाई उनीसँग प्रसस्तै छन्। दुई वर्षअघि पश्चिमकै एक किशोरी छाउगोठमै बलात्कृत भइन्। सर्पले डसेर तीन जना महिलाको ज्यान गयो। ‘एक्लै खुल्ला चौरमा रात विताउनु पर्दा सात रात सात वर्षजस्ता लाग्छन्,’ उनले भनिन्, ‘देउता रिसाउने डरले मजस्तै गाउँका महिलाहरु यसैगरी खुल्ला ठाउँमा बस्ने गरेका छौं।’ भुरेभावरमा दुई सय घरधूरी छन्। अधिकांस महिलाहरुको पीडा रंगाको जस्तै छ। अघिल्लो वर्ष भत्काइएका छाउगोठहरु फेरि ठडिन थालेका छन्।
‘देउता रिसाउने’ डरले घरभित्र पस्ने हिम्मत महिलाहरुले पनि गर्दैनन्। पछिल्लो पुस्ता यो कुरितिलाई मान्न चाहँदैन्। परिवार, छिमेक र समाजको दवाव उनीहरुमाथि छ। ‘छाउ (महिनावारी) हुँदा आराम चाहिन्छ, पोषिलो खानेकुरा खानुपर्छ, घरदेखि एकान्तको छाउगोठमा बस्नुहुन्न भन्ने जानकारी हामीलाई छ,’ पञ्चपुरी नगरपालिका–७ धनबोटकी किशोरी रोशनी बयकले भनिन्, ‘थाहा हुँदाहुँदै पनि परिवार, छिमेक र समाजको दवावले बाहिरै बस्नुपर्ने बाध्यता छ।’
दैलेखको टाठीकाँध गाउँपालिका र आठवीस नगरपालिकामा धेरै गैरसरकारी संस्थाहरुले छाउगोठ भत्काउने अभियान चलाए। अघिल्लो वर्ष गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनप्रतिनिधिहरुको सहभागीतामा दैलेखमा दुई सय ४८ छाउगोठ भत्काइए।
महाबु गाउँपालिका–४ काप्रिखोलाकी लक्ष्मी शाहीले महिनावारी हुँदा सात रात कोक्रो (डोको) माथि पाल टाँगेर आँगनमा विताइन्। सरकारले छाउपडी कुप्रथा अन्त्यका लागि सुरु गरेको महाअभियानका क्रममा प्रहरीले उनको घर नजिकैको छाउगोठ भत्कायो। छाउगोठ भत्काएपछि महिनावारी हुँदा हरेक पटक घर बाहिर रात बिताइरहेकी छन्। ‘घरकाले महिनावारी हुँदा भित्र पस्न दिँदैनन्,’ शाहीले भनिन्, ‘भएको गोठ (छाउगोठ) पनि प्रहरीले भत्काएपछि महिनावारी हुँदा झन कष्टकर दैनिकी भोगिरहेका छौं।’
देउता रिसाउने डरले आफुहरु छाउगोठमै बस्ने गरेको ठाटीकाँध गाउँपालिकाकी विमला विकले बताइन्। ‘सरकारले गोठ भत्काएपछि खुल्ला ठाउँमा रात विताउनुपर्ने बाध्यता छ,’ विमलाले भनिन्, ‘नबारे देउता रिसाउँछन्, घर–परिवारमा विसन्चो हुन्छ।’ छाउगोठ भत्काइए पनि महिलाहरु घरभित्र पस्न पाएका छैनन्। महिनावारी हुँदाका सात रात झन कष्टकर गुजार्नुपर्ने बाध्यता उनीहरुसँग छ। ‘छाउ हुँदा बस्नका लागि छुट्टै गोठ थिए, सरकार आयो र भत्काएर गयो,’ ठाटीकाँधकी मनसरा विष्टले भनिन्, ‘गोठ नहुँदा झन कष्टका सातथ सात रातहरु कटाउने गरेका छौं।’ छाउगोठ भत्काइएकै ठाउँमा अहिले फेरि छाउगोठ बन्न थालेका छन्।
सरकारले छाउपडी अन्त्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सरकारी वकील र जिल्ला प्रहरी कार्यालयको प्रमुख सदस्य रहेको समिति गठन गरेको छ। समितिलाई छाउगोठ भत्काउने मात्रै होइन्, यो कुरीति मान्ने र मान्न बाध्य पार्नेलाई कानुनी कारवाही गर्न पनि निर्देशन दिइएको छ। अभियान देखिने छाउगोठ भत्काउने काममै सीमित भयो। ‘छाउगोठमा बस्न बाध्य पार्ने दुई–चार जना गाउँका मानिसहरुलाई पक्राउ गरेर कारवाही गरिदिएको भए हामीलाई घरभित्र राख्थे कि ?,’ पञ्चपुरीकी रोशनी बुढाले भनिन्, ‘प्रहरी आए, भत्काएर गए, फेरि फर्केर आएनन्।’
बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घर छेउमै दुई वटा छाउगोठ थिए। खरले छाएको गोठमा पराल र कपडा राखिएका थिए। आँगन नजिकै बनाइएको अस्थायी छाउगोठलाई झारले बारिएको थियो। तत्कालिन प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारी नेतृत्वको टोलीले दुबै छाउगोठ भत्कायो। ‘अहिले पनि महिनावारी हुँदा झारले बारिएको अस्थायी गोठमा बस्छु,’ गिरीले भनिन्, ‘देखिने गोठहरु भत्किए, हामीलाई कष्ट बढ्यो,’ उनले भनिन्, ‘सरकारलेनै सामुहिक घरहरु बनाइदिएको भए प्रभावकारी हुन्थ्यो।’
छाउगोठ भत्काउने अभियानमा स्थानीयको सहभागीता भएन्। संघीय सरकारको नीतिलाई जनप्रतिनिधिहरुले साथ नदिँदा पनि अभियान प्रभावकारी हुन सकेन्। ‘वर्षौदेखि समाजमा जडा गाडेर बसेको छाउपडी कुप्रथा एकै पटक प्रहरी–प्रशासन लगाएर अन्त्य गर्न संभव छैन्,’ बराहताल गाउँपालिकाका उपप्रमुख शोभा शर्माले भनिन्, ‘पहिले यसका असरहरुका बारेमा जानकारी दिन आवश्यक छ।’ सुर्खेतका बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकामा छाउप्रथा व्याप्त छ।
कर्णाली प्रदेशमा अघिल्लो वर्ष दुई हजार २३५ छाउगोठ भत्काइएको थियो। सुर्खेतमा एक हजार ९२४, दैलेखमा दुई सय ४८, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएको छ। कोरोना संक्रमण सुरु भएसँगै यो अभियान फेरि सुस्ताएको छ। अभियान सुस्ताएसँगै कर्णालीमा फेरि छाउगोठहरु ठडिन थालेका छन्।
प्रकाशित: २४ फाल्गुन २०७७ १०:४१ सोमबार