समाज

शरीरमा लगाएको सुनको गहना लुट्न ७५ वर्षीयाको हत्या

शरीरमा लगाएको सुनको गहना लुट्न धादिङमा एक वृद्धाको हत्या गरिएको खुलेको छ । हत्या गरिएकी वृद्धा धुनीबेसी नगरपालिका–४ ढुंगेनी बस्ने ७५ वर्षीया सान्नानी सार्की रहेको प्रहरीले बताएको हो । गत पुस २४ गते बिहान २ बजेको समयमा आफ्नै घरमा सुतिरहेको समयमा कर्तव्य गरी मारी उनले लगाएको सुनका गहना लुटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ घर भएका २५ वर्षीय अनिल थिङ भन्ने जयबहादुर सिंगार, ओखलढुंगाको चिसखुगढी गाउँपालिका–३ घर भई काठमाडौंको थानकोट बस्ने २४ वर्षीय अबिसराज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।  

त्यस्तै लुटिएका गहना खरिद गर्ने काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका–२ घर भई काठमाडौंको कालीमाटी बस्ने ४२ वर्षीय सुन व्यवसायी धनबहादुर कालीराज र सुन बिक्रीमा सघाउने नुवाकोटको विदुर नगरपालिका–५ घर भई काठमाडौंको बाफल बस्ने ३३ वर्षीय पुष्पाकुमारी पौडेललाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ । घटना भएदेखि नै धादिङ र काठमाडौंमा प्रहरीले खोजी कार्य गरिएको थियो । घटनामा संलग्न अनिल थिङलाई फागुन १७ गते पक्राउ गरिएको थियो भने अन्य चारजनालाई गत माघ २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

सुनका गहना लुटपाट गर्ने योजना बनाई पहिलेदेखि उक्त स्थानमा ससुराली घरमा बस्दै आएका जयबहादुरले अन्य प्रतिवादीहरूलाई काठमाडौँमा बोलाई योजना बनाएको थियो । योजनाबमोजिम मृतक सान्नानी सार्कीको घरमा पुगी टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App