समाज

उजाडिँदै चुरे, संकटमा मुलुकको ‘जीवनरेखा’

मुलुकको शासन अब कसरी अघि बढ्छ भन्नेमा बहस केन्द्रित भइरहँदा पूर्वराष्ट्रपति डा. रामवरण यादवले संकटमा पर्दै गएको मुलुकको जीवनरेखा ‘लाइफलाइन’बारे चिन्ता व्यक्त गरेका छन् । मधेसको मात्र नभई मुलुकको ‘लाइफलाइन’ चुरे संरक्षण नभए मानव जीवन नै संकटमा पर्नेतर्फ उनले ध्यानआकर्षण गराएका छन् ।

‘हरियो वन नेपालको धन’ भन्ने नाराको अस्तित्व जोगाऔं । भावी सन्ततीका लागि पनि गम्भीर भएर सोचौं । चुरे मधेसको मात्रै नभएर देशकै ‘लाइफलाइन’ हो । पूर्वराष्ट्रपति यादवको प्रकृतिबारे चिन्ता र चासोले जनकपुरधाममा जारी साहित्य महोत्सवका सहभागीहरूलाई भावुक बनायो । हिमालको हिउँ पग्लिँदैछ । तराई–मधेस पहाडमा भएका वनजंगल विनास हुँदैछ । पर्यावरण रितिँदै छ भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘म अहिले ८० वर्ष पुग्न लागे । मैले देख्दै–भोग्दै आएको छु, तराई–मधेसमा धेरै वनजंगल नास भएको छ, हुँदैछ,’ उनले भने । विकासको योजना बनाउँदा पर्यावरणको संरक्षणमा दिन उनले आग्रह गरे ।

देशैभर चुरेको दोहन नरोकिएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘मोटरबाटो लैजान भन्दै जथाभावी सडक खनिएको छ, खनिँदैछ । अवैधानिक रूपमा नदीको दोहन बढ्दो छ । डोजर, स्काइभेटरवालाले सरकारी नियमकानुन पालना गर्दैनन् । संघीय, प्रदेश र स्थानीय सरकारले चुरे संरक्षणमा ध्यानै नदिएकैले चुरे ध्वस्त भइरहेको छ ।’

प्रदेश २ मा ४.३ प्रतिशत मात्रै जंगल बाँकी छ । धेरैजसो जंगल सखाप पारिसकिएको छ । चुरे क्षेत्रमा घना वनजंगल छ । यहाँ चराचुरुंगी, पशुपंछी र विभिन्न प्रकारका जानवरको सुरक्षित बासस्थान हो । चुरेमा बहुमूल्य साल (सखुवा) र अन्य धेरै प्रजातिका रूख छन् । वनजंगल मासिदै गएपछि जनावरहरू बस्तीतर्फ, राजमार्गतर्फ बौरिदै छन् ।

बालुवा, गिटी, ढुंगा, माटोले चुरिया (चुरे) पहाड बनेको छ । यसको स्वरूप कोमल(भुसभुसे) छ । यसलाई कान्छो पहाड पनि भनिन्छ । चुरेले पानी सोस्छ । जहाँ जंगल छ, त्यहाँ पानी पर्छ । तराईमा जुन जंगल थियो, त्यहाँ ‘बफर जोन’ थियो । यसलाई चुरेको भावर क्षेत्र पनि भनिन्छ । जसले चुरेबाट भूमिगत रूपमा बगेर आएको पानी भण्डारण गर्ने गर्छ । तराईका नदीनाला, पोखरी, इनार, कलमा त्यसैबाट प्रसस्त पानी आउँथ्यो ।

पूर्वराष्ट्रपति यादवले सम्झे, ‘पहिला जनकपुरमा ४० फिटमै चापाकलमा भरपूर पानी आउँथ्यो । जहाँ आँखा दौडायो हरियाली नै हरियाली । प्रायः सबैको दुरामा (आँगन) इनार र, त्यो इनारमा पानीले भरिएको हुन्थ्यो । उनी भन्छन्, ‘हेर्दाहेर्दै इनार, पोखरी, नदीमा पानी सुक्न थालिसक्यो । पानीको सतह तल–तल गयो । अहिले २ सय फिट तल मात्र पानी आउँछ ।’  

चुरेको विनासलिलासँगै जंगल मासिँदै गयो । चुरेको चट्टान फोडेर बालुवा, गिटी र ढुंगा झिकियो । जसले भावर क्षेत्रको पानी भण्डार गर्ने क्षमता कम भएर गयो । पहिला वर्षाको पानी जमिन मुनी जानथ्यो । अहिले चुरेको पानी सोस्ने जाली नै फाडिसकिएकोले वर्षाको पानी खहरेबाट बगेर सिधैं खोला नदीमा जान्छ । चुरेमा पानी सोस्ने क्षमतामा निरन्तर ह्रास आइरहेको उनको चिन्ता छ ।

अरुले चुरे विनासलिला बारे चासो नदेखाएकोमा भन्दा तराई– मधेसका जनप्रतिनिधिले समेत चासो नदेखाउँदा यादव छक्क परेका छन् । सबै विकास, विकास भनिरहेका छन् तर प्राकृतिले हामीलाई दिएको अनुपम उपहार उपकरणले (डोजर) भत्काउँदै विनास गरिरहेका छौं ।  

चुरे क्षेत्रका सामग्री छुनै हुन्न भने पनि छैन । वैज्ञानिक अध्यन गरी झिक्न मिल्ने भनिएको ठाउँबाट मात्र सामग्री झिक्नुपर्छ । नदीमा बगेर आएको बालुवा गिटी तोकिएको स्थान र मात्रा बमोजिम निकाल्दा फरक पर्दैन । त्यसका लागि भूअध्ययन गरिनुपर्छ । पानी, माटो र जंगलका बारेमा अध्ययन गरिनुपर्छ ।

यादव राष्ट्रपति हुँदा चुरे संरक्षणको विषयले प्राथमिकता पायो । त्योबेलाका सरकारले चुरेलाई संवेदनशील क्षेत्रमा राखेर समिति गठन गरी काम गर्न सुरु गर्यो । चुरे संरक्षणको परियोजनलाई सरकारले राष्ट्रिय गौरवको परियोजनामा राख्यो । माधवकुमार नेपाल सरकार प्रमुख हुँदा २० वर्षको मास्टर प्लान पनि पास भयो । तर त्यसपछिका सरकारले चुरे संरक्षणलाई उति प्राथमिकतामा राखेनन् । गुरुयोजनामा चुरे संरक्षणमा अपनाउनुपर्ने सबै विषय समावेश छन् । संसद्बाट चुरे संरक्षणको कानुन बन्न सकेको छैन । सरकारले कानुन बनाउँदैन् । मधेसका जनतालाई प्रतिनिधित्व गरि संसदमा पुगेका जनप्रतिनिधिले पनि कुरा उठाउँदैनन् । बुधबारबाट सुरु जनकपुर साहित्व महोत्सवमा पूर्वराष्ट्रपति यादवले चिन्ता व्यतm गरे, ‘मधेस केन्द्रित दलका शीर्ष नेताहरूले समेत चुरे विनाशलिलाबारे संसद्मा प्रश्न गरेको सुनिँदैन । संसद्बाट कानुन बनेको भए चुरे संरक्षणमा बल पुग्थ्यो ।’

सरकारले सडक बनाउँदा विज्ञहरूको सल्लाह लिनुपर्छ । सडक विस्तारको नाममा विनास, उठिबास निम्त्याउने काम गर्नुहुन्न । ‘पूर्वपश्चिम लोकमार्ग(महेन्द्र राजमार्ग) छदैंछ । हुलाकी राजमार्ग वर्षौदेखि लथालिंग छ । फेरि चुरेको छातीबाट मदन मण्डारी राजमार्ग निर्माण गरिँदैछ,’ यादवले भने, ‘यसले विकासभन्दा पनि विनास निम्त्याउनेबाला छ ।’

चुरेका हजार बढी स्थान पहिरोको जोखिममा रहेको अध्ययनले देखाएका छन् । मदन भण्डारी राजमार्गले उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, दाङ, सुर्खेत, डोटी र डडेलधुराको चुरे भूभाग पूरै ध्वस्त हुन्छ भनेर विश्वविद्यालयहरूकै अध्ययनले जनाएका छन् ।

अहिले अन्न आयात गर्दैछौ, अब पानी गर्नुपर्ला पूर्वराष्ट्रपति यादवले चुरे पानीको र मधेसलाई अन्नको भण्डार भएको बताउँदै भने, ‘तीन दशकअघि सम्म अन्नको निर्यातकर्ता हामी अहिले ठूलो मात्रामा अन्न आयात गर्दैछौं । यो विषयबारेको चर्चा कहिल्यै प्राथमितामा परेन । यसको कारण खोजेर सामाधानतर्फ कहिल्यै लागेनौं ।’

विसं २०२४ सालसम्म नेपाल संसारकै पाँचाैं धान निर्यात गर्ने राष्ट्र थियो । ०४० सालसम्म नेपाल अन्न अरु देशलाई पठाउँथ्यो । तर अहिले खर्ब रुपैयाँको चामल, दलहन, तेलहनजस्ता खाद्यान्न आयात गर्न बाध्य छौं । अब पनि चिन्ता नलिने ?,’ उनले प्रश्न गरे ।

यही जनकपुरमा पोखरी नै पोखरी थियो । पोखरीमा पानी भरिएको हुन्थ्यो । मनग्य माछा उत्पादन हुन्थ्यो । चरिचरणको पर्याप्तता थियो । पशुपालन हुन्थ्यो । मधेस गुलजार स्वर्गजस्तै थियो । बाहिरका मानिस पनि मधेसमा खेतीपाती गरी धान लिएर पहाडतिर फर्किन्थें । अहिले अवस्था फेरिएको छ । गुलजार मधेस भरुभूमीकरण हुँदैछ । हरियाली फाँटहरू उजाड बन्दैछ । पोखरीहरू सुक्दै जिर्ण बन्दै छ । कञ्चन पानी फोहोरमा परिणत हुँदैछ । हरियो बन नेपालको धन भन्ने नारा नारामै सीमित हुँदैछ, पूर्वराष्ट्रपतिको चिन्ता र चासो छ ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०२:०१ शुक्रबार

मुलुकको जीवनरेखा चुरे संरक्षण