काठको भाँडाकुँडा बनाउने ‘चदारो’ व्यवसाय लोपोन्मुख बन्दै गएको छ । धातु तथा रबरका सामान प्रयोग गर्ने क्रम बढेसँगै काठका ठेकाठेकी, कठुवा, तोङबाको भाँडो, दुधेरो, दही जमाउने भाँडो, कुरुवा, हर्पे, गम्भुलगायत सामान बनाउने ‘चदारो’ व्यवसाय लोपोन्मुख बनेको हो ।
‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’ व्यवसाय लोप हुने खतरा देखिएको छ । हिजोआज ‘चदारो’को उद्योग चलाउने सिप भएका व्यक्ति कम हुँदै गएका छन् ।
हाल ‘चदारो’को काम गर्दै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने व्यवसायीले सो व्यवसाय टिकाइरहेका छन् । ‘चदारो’सम्बन्धी सिप भएका कोही पनि व्यक्ति बाँकी नरहेको नेर्पा र दिक्तेलको सिमानामा पर्ने मेवा खोलामा ‘चदारो’को अस्थायी उद्योग खडा गरेका उदयपुर बेलका नगरपालिका ठोक्सिलाका लोकिन्द्र बिक बताउँछन् । ५१ वर्षीय बिकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको सिमानामा पर्ने खोलामा तीन हप्ताअघि आएर ‘चदारो’को अस्थायी उद्योग चलाएका हुन् ।
‘चदारो’ व्यवसायीले खोला किनारमा खोलाको पानीले मोटर घुमाएर काठका ठेकाठेकी, कठुवालगायत भाँडाकुँडा बनाउने गरेका छन् । कतिपय स्थानीयले काठका सामान बनाउन ‘चदारो’ व्यवसायीलाई आफ्नै गाउँमा बोलाउँछन् । बोलाइएका ठाउँमा पुगेर ‘चदारो’ व्यवसायीले दार, सिरिस, पैयूँ, पहेंलेलगायतका कमलो काठको मुढोलाई आकर्षक भाँडाकुँडाको रूप दिने गरेका छन् । भाँडाकुँडा बनाउने उपकरणसहित विभिन्न ठाउँ पुग्ने यस्ता व्यवसायी खोलाकिनारमा बसेर उपकरण जडान गर्छन् । उपकरण जडान गरेकै ठाउँमा स्थानीय कच्चा काठ बोकेर भाँडाकुँडा बनाउन पुग्ने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानीय षडानन्द आचार्य बताउँछन् ।
श्रम गरेअनुसार पारिश्रमिक हात नलागेकाले पनि ‘चदारो’ व्यवसायले व्यावसायिकताको बाटो समात्न नसकेको हो । अर्कातर्फ पुख्र्यौली उद्योग ‘चदारो’ व्यवसायको व्यवसायीकरणमा स्थानीय सरकारको चासो नपुग्नु पनि यो व्यवसाय उँभो लाग्न नसक्नुको अर्को कारण हो । यही कारण ‘चदारो’को काम गर्ने सिप भएका व्यक्ति एकदुई मात्र भेटिन्छन् । पछिल्लो समय काठका भाँडाकुँडाप्रति सर्वसाधारणले पनि चासो कम राख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य बताउँछन् ।
काठका भाँडामा राखिएका खाद्यवस्तु लामो समयसम्म स्वस्थकर रहने विश्वास छ । गाउँघरमा कतिपय खाद्यवस्तु काठका भाँडामा राख्नु स्वास्थ्यका दृष्टिले उपयुक्त पनि मानिन्छ । त्यही कारण धातु तथा रबरका भाँडाकुँडाको सट्टा काठका सामान प्रयोग गर्ने स्थानीय उत्तिकै छन् । बढीजसो दूधदहीको परिकार राख्ने ठेकी, दुधेरो तथा रक्सी दिने भाँडाका रूपमा प्रयोग गरिने कठुवा खपत हुने गरेको छ ।
लोकिन्द्र वर्षमा एक पटक खोटाङका विभिन्न ठाउँमा चदारोको कामका लागि डुल्ने गरेका छन् । चदारो व्यवसायबाट उनले मासिक २० हजारको हाराहारीमा आम्दानी गरिरहेका छन् । चदारोको कामकै लागि उनी खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, तेह्रथुम पुग्ने गरेका छन् । एक पाथी अट्ने ठेकी बनाएबापत उनले पाँच सय पारिश्रमिक लिने गरेका छन् ।
त्यसभन्दा सानो आकारका कठुवा, कुरुवा, हर्पेलगायत सामान बनाएबापत दुई सयदेखि दुई सय ५० लिने गरेका छन् । लोकिन्द्रले जिल्लाकै दोर्पा चिउरीडाँडा, पाथेका, खार्ताम्छा, दिप्लुङलायत ठाउँमा पुगेर चदारोको काम गर्दै आएका छन् । उनले फुलदानी, वान गिलाससमेत बनाउने गरेका छन्।
प्रकाशित: २० फाल्गुन २०७७ ०४:३५ बिहीबार