समाज

ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो

ताप्लेजुङका उद्योगी व्यवसायीहरुको नेतृत्व पंक्तिले कर्मचारीको न्यूनतम् बढुवा अवधिलाई समेत ख्याल नगरी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको सरुवा गरेर सरकारले अन्याय गरेको बताएको छ।  

ताप्लेजुङ उद्योग बाणिज्य संघद्वारा चापागाँइको बिदाइका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य समेत रहेका ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले प्रजिअ चापागाँइलाई अन्याय हुने गरी सरुवा सूची निकाल्नु गलत भएको बताए। उनले कर्मचारीको सरुवा बढुवा सामान्य प्रकृया भएपनि सहज ढंगले काम गरिरहेको व्यक्तिको जिम्मेवारी परिवर्तन अस्वभाविक भएको बताए। नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सन्तोष खतिवडाले यति चाँडै सरुवा हुनुपर्ने गरी प्रजिअ चापागाँइबाट नराम्रो काम नभएको स्मरण गर्दै हठात्को सरुवाले चापागाँइप्रति अन्याय भएको बताए।  

ताप्लेजुङ उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष दावा शेर्पाले चापागाँइको सरुवाले कर्मचारीको न्यूनतम् वृत्ति विकासमा असर गर्ने भन्दै त्यो बिबेक गुमाउनु सरकारको कमजोरी भएको बताए। प्रजिअ चापागाँइ आफैंले भने आफूले जिम्मेवारी रहँदा नराम्रो काम नगरेको र बिबेकले भ्याएसम्म राम्रो काम गर्ने प्रयत्न गरेको भन्दै यतिञ्जेलसम्मको सहकार्यका लागि जिल्लावासी सबैप्रति आभार प्रकट गरेका छन्।  

सामान्यतया कर्मचारीको बढुवाका लागि कम्तिमा २ सय ३३ दिन दुर्गममा काम गरेको हुनुपर्छ। चापागाँइका लागि यो मिति पुग्न सरुवा भएको मितिले ३८ दिन बाँकी थियो। सरुवा गर्ने निकायले कर्मचारीको बृत्ति विकासका लागि कम्तिमा दुर्गम क्षेत्रमा सेवा गरेको २ सय ३३ दिनलाइ कुर्नु अनिवार्य रहन्छ। तर चापागाँइलाई भने गृह मन्त्रायले बढुवाका लागि चाहिने आवश्यक सेवा अवधिको ३८ दिन अगावै सरुवा गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०७७ ०५:५८ मंगलबार

ताप्लेजुङ उद्योगी व्यवसायी