समाज

गलेश्वर मन्दिर पित्तलले छाइने

बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो। मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे।

मन्दिरको छाना हाल सिमेन्टको छ। कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए। शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए। पित्तलको छाना राख्न रु २५ लाख लागत अनुमान गरिएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो। कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ। साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ। गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताए। सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी रु दुई करोड ८६ लाख २० हजार ७२८ आम्दानी र रु १९ लाख ६७ हजार ८१४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषको कूल बचत रु दुई करोड ६६ लाख ५२ हजार ९१३ बचत रहेको उनले बताए। रासस

प्रकाशित: १६ फाल्गुन २०७७ ०५:०२ आइतबार

गलेश्वर मन्दिर